धरान । धरान खानेपानीको उत्पादनप्रति ‘विश्वासिलो आधार नभएको’ भन्दै जनता समाजवादी पार्टीले कात्तिक २६ गते नेपाल खानेपानी संस्थान धरान शाखालाई धरान खानेपानी बोर्डमा ‘मर्ज’ (एकत्रित) गर्ने निर्णयप्रति फरक मत जाहेर गरेको छ ।
उसले विगतमा धरान उपमहानगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय खानेपानी सङ्घर्ष समितिसँग गरेको ११ बुँदे सहमति समेत ‘स्थानीय सरकार’ लाई स्मरण गराएको छ । धरान खानेपानी बोर्डले पानी उत्पादन गर्ने विषयमा गरेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) लाई लिएर फेरि एक पटक आशङ्का गरिएको छ । जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बूद्वारा शनिबार हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कार्यपालिकाको कात्तिक ५ गते बसेको बैठकले खानेपानी संस्थान शाखालाई बोर्डमा मर्ज गर्ने निर्णय गरेकोप्रति जसपाको गम्भीर ध्यानाकर्षण भएको छ, यसको हाम्रो पार्टी घोर भत्र्सना र विरोध गर्दछ ।’
खानेपानी आयोजनाप्रति धरानका नागरिक हालसम्म पनि पानी उत्पादनलाई लिएर सन्तुष्ट बन्न सकेका छैनन् । विगतमा भएको डिजाइन र जानकारीबिनै पुनः २ वटा वेल खनिएपछि नै पानी उत्पादनलाई लिएर धराने जनताले आयोजनाप्रति आशङ्का व्यक्त गर्दै आइरहेका छन् । सोही आशङ्का जसपाको पनि छ । उसले भनेको छ, ‘धरान खानेपानी आयोजनाले उत्पादन गर्ने ७ वटा नयाँ वेलबाट उत्पादन भएको पानी विभिन्न समयमा अनुगमन तथा मुल्याङ्कन गर्दा ६३–६४ लाख पानी मात्र रिजर्भवेयरमा जम्मा भएको पाइएको छ त्यसको प्रमाणको रूपमा आयोजनाको डीपीआरमा नभएको २ वटा नयाँ वेल निर्माण लिन सकिन्छ ।’ धरान उपमहानगरको कात्तिक ५ गते बसेको कार्यपालिकाको बैठकले कात्तिक २६ गतेभित्र खानेपानी संस्थानलाई बोर्डमा एकत्रित गरिसक्ने निर्णय गरेको थियो ।
पार्टीले स्पष्टसँग खानेपानी संस्थान धरान शाखालाई बोर्डमा मर्ज नगर्नका लागि विज्ञप्तिमार्फत् आह्वान गरेको छ । पार्टीले जबसम्म डिजाइन र गरेको प्रतिबद्धता अनुसार पानी उत्पादन नभएसम्म शाखालाई बोर्डमा ल्याउन नहुने अडानलाई फेरि एक पटक दोहोर्याएको छ । विज्ञप्तिमा भनिएको छ, ‘धरान उपमहानगरपालिकाले धराने जनता सामु गरेको शर्त र पटक पटकको प्रतिबद्धता पूरा नगरी नेपाल खानेपानी संस्थान धरान शाखालाई धरान खानेपानी बोर्डमा मर्ज गरेमा जनता समाजवादी पार्टीले त्यसको विरोध गर्ने छ र शसक्त आन्दोलन गर्ने कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं । त्यसले पु¥याउने असर र परिणामको भागीदार स्वयम् धरान उपमहानगरपालिका रहने कुरा व्यक्त गर्न चाहन्छौं ।’
जसपाले आयोजनाको डीपीआरमा प्रतिदिन भूमिगत स्रोतको ७ वटा वेलमार्फत पानी उत्पादन गरी रिजर्भवेयर (खानेपानी ट्याङकी) मा ९२ लाख लिटर पानी जम्मा गर्ने र धरान खानेपानी शाखाले उत्पादन गरिरहेको करिब (जमिनको भुमिगत श्रोतबाट ३ वटा वेल पुरानो र सर्दु खोलाको सतही पानी) १ करोड २० लाख २० हजार लिटर पानी गरेर जम्मा २ करोड १२ लाख २० हजार पानी वैज्ञानिक वितरण गर्ने जनाएको थियो । जसमा २८ हजार धारामा दैनिक न्युनतम १६ घण्टा ७ मिटरको प्रेशरमा पानी वितरण गर्ने धराने जनताहरुमा प्रतिबद्धता गरेअनुसार हाल यी प्रतिबद्धता पूरा नभएको स्थितिमा बोर्डमा मर्ज गर्ने निर्णय आफैमा गैरजिम्मेवारीपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।
आयोजनाप्रति धराने जनताले भ्रष्टाचार र अनियमितताको आशङ्कासमेत गरिरहेको अवस्था छ । जसलाई नगर प्रमुख तिलक राईले विज्ञहरूको समिति निर्माण गरी सोही समितिले दिएको प्रतिवेदनको आधारमा मात्रै आयोजनामा मर्ज गर्ने भनी दिएको प्रतिबद्धतामाथि पनि जसपाले प्रश्न उठाएको छ ।