धरान/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको पछिल्लो शक्ति सङ्घर्षलाई लिएर तल्ला तहका नेता कार्यकर्ता हतास देखिएका छन् ।

तल्ला तहका नेता कार्यकर्ताहरूले ‘स्वार्थका लागि यो तहको शक्ति सङ्घर्ष बेठीक’ भएको तर्क गर्न थालेका छन् । नेकपाका नगर अध्यक्ष नारायण सुवेदी भन्छन्, ‘जे भइरहेको छ, त्यो एकदमै दुभाग्र्यपूर्ण छ, तल्लो तहका नेता, कार्यकर्ताको मर्म र भावनामाथि ठेस पु¥याउने काम भएको छ ।’ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो केही दिनयता भइरहेको सङ्घर्षले पार्टी फुटतर्फ पनि जाने अनुमान गरिन थालिएको छ । यतिसम्म कि ओली निकटका नेताहरूले प्रचण्डले पार्टी फुटाउन लागेको भन्दै ‘दोषारोपण’ गरिरहेका छन् । जबकि ओलीले प्रचण्डलाई पार्टी फुटाउन खुल्ला चुनौती दिँदै आएका छन् ।

अध्यक्ष सुवेदी थप्छन्, ‘यो वास्तवमा नेताको स्वार्थका कारण भइरहेको छ, जसले गरेको भए पनि गलत छ ।’ उनी पार्टी फुटको दिशामा जाने कुरामा भने नेताहरूले ‘त्यो दुस्साहस’ नगरिहाल्ने तर्क गर्छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार प्रचण्डले पुनः एक पटक अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग संवाद गर्नुपर्ने तर्क गरेपछि ‘विवाद कुन तहसम्म छ’ भन्ने प्रष्ट्याएको छ । केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर नेपाल आएका ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँगको दुई घण्टे वार्ताले पनि नेकपाको विवादलाई मलजल गरेको छ । ‘रअ’ प्रमुख गोयलसँगको भेटलाई प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावलले ‘कूटनीतिक मर्यादा विपरीतको भेट’ भनेका थिए ।

त्यसयता अध्यक्षद्वयमा तिक्तता सुरु भएको थियो । अझ त्यसलाई थप मलजल गर्ने काम कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर साहीमाथि ल्याइएको अविश्वासको प्रस्तावले पनि भूमिका खेल्यो । कतिपय राजनीतिक विश्लेषकले ‘नेकपा जोडिएको जस्तो देखिए पनि मन अझै जोडिन नसकेको’ टिप्पणी गर्दै आएका छन् । सत्तारुढ दलभित्र देखिएको सङ्घर्षको सामाजिक सञ्जालहरूमा खुलेर आलोचना हुँदै आएको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओलीप्रति निकै कडा आलोचना गर्दै आएका लेखक खगेन्द्र सङ्ग्रौलाले आइतबार यसरी ट्वीट गरेका थिए, ‘सर्वोच्च कुर्सीको लालसा जुधेर केपी र पीकेका चित्तमा तिक्तताको आगो बलेपछि ओलीले प्वाक्क भनेछन्–अब आ–आफ्नो बाटो लागौँ । अनि सुरु भयो एकता टुट्ने भो भनेर रूवाबासी । जे कहिल्यै एक भएको छैन, त्यसमा टुट्नलाई के नै छ र ? टुट्ने भो भन्ने यो हावादारी रोइलो केवल पटमूर्खता हो ।’

ट्वीटरमा यस्ता कडा आलोचनाहरू खुबै देखिएका छन् । अग्रज पत्रकार किशोर नेपालले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘सत्रौं शताब्दीका तानाशाहको शैलीमा प्रम तथा अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी विभाजन हुने चेतावनी दिएछन् । नेकपा विभाजित भए एमालेको पुनर्जन्म हो तर, एमाले एक्लैले दुईतिहाइ धान्न सक्दैन । प्रम ओलीको विचारमा माओवादी नालुका लौरा हुन् । यस्तो पनि राजनीति ।’ अग्रज पत्रकार नेपालले राजनीतिप्रति नै प्रश्न उठाएका छन् । कतिपयले भने कोरोना सङ्कटको घडीमा स्वास्थ्य सेवालाई चुस्त बनाउनतिर लाग्नुको सट्टा शक्ति सङ्घर्ष ‘कुबेलाको बाँसुरी’ को संज्ञा दिएका छन् ।

नेपाली राजनीतिलाई नजिकबाट बुझेका डा. आनन्द आचार्य भन्छन्, ‘कोरोनाको समस्या एकातिर छ, अर्कोतिर पार्टीभित्र अन्तरसङ्घर्ष चुलिएको छ, यसले पार्टी विभाजनतिरै उन्मुख हुने हो कि भन्ने लक्षण देखिएको छ ।’ उनले २०५१ सालमा नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको शैलीलाई हालका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पछ्याएको तर्क गरे । ‘नेपाली राजनीतिको विडम्बना इतिहासको पुनरावृत्ति भएको देखिँदैछ’ उनले फोनसम्पर्कमा भने, ‘नेपालमा उच्च राजनीतिक संस्कृतिको अभाव, परिपक्वताको अभाव र सङ्कीर्णता देखियो । सबै दलमा एउटै प्रकृतिको समस्या छ ।’

शक्ति सङ्घर्षको विजारोपण सचिवालयको बैठकलाई लिएर गत वैशाखदेखि नै सुरु भएको थियो । त्यसयता विभिन्न बहानामा अध्यक्षद्वयबीच तिक्तता बाक्लिँदै आएको छ । अहिले देखिएको सङ्घर्षलाई नेकपाका तल्ला तहका नेता तथा कार्यकर्ताले ‘जनमतको अनादर’ भनेका छन् । नेकपाका धरान नगर इञ्चार्ज चोत्लुङले भने, ‘अहिले जुन किसिमको माहौल देखिँदैछ, त्यो जनतासँग गरेको प्रतिबद्धतामाथिको विश्वासघात हो । जनमत विपरीत हो । एकता विभाजनको लागि गरिएको हैन, देशको समृद्धि र पार्टी एकीकरणलाई कङ्क्रिट ढङ्गले अगाडि बढाउने बेला हो ।’ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले समाचारमा आएजस्तो प्रचण्डलाई पार्टी विभाजन गर्नुस् भन्ने खालको अभिव्यक्ति ‘पार्टीको आचार–संहिता, नीति र सिद्धान्त बाहिर’ रहेको उनले प्रतिक्रिया दिए । ‘यो बेला जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने हो, टुटफुट हुने, खण्डित हुने बेला हैन । जनताको आशा र अपेक्षालाई सम्बोधन गर्ने बेला हो ।’