- वसन्त लिम्बू । ताप्लेजुङ
प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको हिमाली गाउँ घुन्सा आइपुगेका छन् । घुन्सा फाउण्डेसनले निर्माण गरेको सामुदायिक स्वास्थ्य इकाईको उद्घाटनका लागि सोमबार घुन्सा आएका हुन् ।
घुन्सावासीले ओलीलाई स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीसँग संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ, पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि आएका छन् । घुन्सा आउनुअघि प्रधानमन्त्री ओलीले उत्तरी चीनसँगको सिमानाका ओलाङ्चुङगोला र त्यहाँ केही समयअघि स्थापना गरिएको बोर्डर आउट पोष्ट (बाओपी) को हवाई निरीक्षण गरेका थिए ।
घुन्सा कञ्चनजंघा हिमालको काखमा रहेको हिमाली बस्ती हो । घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
तस्बिरः पत्रकार सिताराम गुरागाई