नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा नजान नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

ओलीले नेकपा एमालेसँग आवद्ध कोही– कसैले पनि गुटगत भेला नगर्न र त्यस्ता भेलामा नजान सचेत गराए ।

आज आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओली माधव नेपाल पक्षको राष्ट्रिय कार्याकर्ता भेला पार्टीविरोधी रहेको बताए । उनले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान, कानून र पार्टीको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिए ।

केन्द्रीय सदस्य तथा सांसदहरूलाई बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने बताए ।

‘अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन’ ओलीले भने, ‘अचाक्ली भयो, पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन सक्दैन ।’

एमालेमा कसैमाथि अन्याय नहुने र विधि पद्धतिका नाममा बाटोबाटै अध्यक्ष र संसदीय दलको नेता हटायौं भन्ने छुट पनि नहुने ओलीले बताए । 

ओलीले भने, ‘केही मानिसहरु निहुँ खोजिरहेका छन्, भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे, समानान्तर कमिटी बनाउने अरे ।’

ओलीले थपे, ‘अनुशासनहीन भएमा देशको कानून, संविधान, पार्टीको विधान, संसदको नियमावली, राजनीतिक दल सम्बन्धी ऐन छ । यी सबै कुरातिर म ध्यानाकर्षण गर्न चाहान्छु । भोलिको गुटगत भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउँछु ।’