बिर्तामोड । पर्यटन प्रवद्र्धन अभियानमा गरेको योगदानको कदर गर्दै प्रदेश सरकारले झापाको बिर्तामोडस्थित होटल हिकोला हेरिटेजका सञ्चालक एवम् हिमालयन टुर एण्ड ट्राभल्स (अनुपमा) का प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठलाई सम्मान गरेको छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले विराटनगरमा आयोजित समारोहका बीच व्यवसायिक क्षेत्रका अगुवा श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको हो । विश्व पर्यटन दिवस २०२२ः अतिथिको सत्कार नेपालीको संस्कार’ भन्ने नाराका साथ मनाएको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले होटल सञ्चालक श्रेष्ठलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगाल लगायतको पनि सहभागिता रहेको थियो । लामो समयदेखि श्रेष्ठ पर्यटन प्रवद्र्धन अभियानमा सहभागी छन् । साढे तीनदशक अघिदेखि फोटोग्राफीमार्फत श्रेष्ठले पर्यटकीय क्षेत्रको प्रचार अभियान सुरु गरेका थिए । फोटोग्राफीका लागि हिकोला कलर ल्याव नेपालमा प्रसिद्ध छ ।

फोटोग्राफी बाहेक अनुपमा ट्राभल्समार्फत पनि श्रेष्ठले निरन्तर पर्यटन क्षेत्रमा योगदान गर्दै आएका छन् । बिर्तामोडमा होटल हिकोला हेरिटेज सञ्चालनमा छ । श्रेष्ठले काँकडभिट्टामा पनि होटल हिकोला हेरिटेज सञ्चालनमा ल्याएका छन् । ‘जुन सम्मान मैले पाएँ, प्रदेश सरकारले यसको सुरुवात गरेको छ’, श्रेष्ठले भने, ‘आगामी दिनमा पर्यटन क्षेत्रमा योगदान गर्नेलाई उनीहरुको योगदानका आधारमा सम्मान गर्दै लैजानुपर्छ ।’