पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले फोहोरबाट प्राङगारिक एवं जैविक मल उत्पादन गर्न सम्झौता गरेको छ । फिदिम बजारमा संकलन हुने फोहोरबाट प्राङगारिक एवं जैविक मल उत्पादन गर्ने कारखाना (प्लान्ट) निर्माणका लागि फिदिम नगरपालिकाले हिमालय एग्रोएकोलोजी रिसर्च एन्ड डेभलपमेन्ट, ईलामसंग सम्झौता गरेको हो । 

फिदिम—४ थाक्ले–सालघारी स्थित नगरपालिकाको डम्पिङ क्षेत्रमा प्लान्ट स्थापनाको लागि नगरपालिकाले निर्माण कम्पनी एग्रोएकोलोजीलाई नगद ६ लाख १८ हजार, ५ रोपनी जग्गा दिने सहमती गरेको छ । त्यस्तै नगरपालिकाको डम्पिङ क्षेत्रमा रहेको भवन र आवस्यक सामग्री उपलव्ध गराउने समेत सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौतामा जैविक मल उत्पादनका लागि आवश्यक जनशक्तिलाई तालिम, कर्मचारी व्यवस्थापनका कार्यहरु एग्रोएकोलोजीको दायित्व अन्तर्गत राखिएको छ । उत्पादित मलको बजारिकरण र व्रान्डिङ गर्ने दायित्व पनि एग्रोइकोलोजीलकै हुने संझौतामा उल्लेख छ ।

सम्झौता अनुसार २ वर्ष अवधिमा निर्माण कम्पनी एग्रोएकोलोजीले घरबाट निस्किने फोहोरबाट मल उत्पादन गरी बिक्री गर्नु पर्नेछ् । मल बिक्री बाट प्राप्त आम्दानी नगरपालिकालाई संझौता अनुसार उपलब्ध गराउनु पर्ने भएको छ । उक्त आम्दानीबाट  नगरले कृषि उद्यम र विकासका लागि लगानी गर्ने नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले जनाए ।

सम्झौतामा फिदिम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निर्मला दाहाल र एग्रोइकोलोजीका अध्यक्ष माधवी मगरले हस्ताक्षर गरेका छन । एग्रोइकोलोजीले इलामको फिक्कलमा मुख्य कार्यालय स्थापना गरी १४ वर्षदेखि जैविक मल उत्पादन गर्दै आएको छ ।