काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटक पथप्रदर्शकका समस्या सरकारले समाधान गर्ने बताए।

टुरिष्ट गाइड एशोसियशन नेपाल टुर्गान०ले आज यहाँ आयोजना गरेको ‘नवौँ राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’को शुभारम्भ गर्दै उनले पर्यटक पथप्रदर्शकका समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्दै लगिने बताउनुभएको हो। “पर्यटक पथप्रदर्शकका तत्काल गर्नुपर्ने समस्या समाधान गर्ने र पछि समाधान गर्नुपर्ने विषयलाई नीति, कानुनबाट समाधान गर्दै लगिनेछ,” मन्त्री पाण्डेले भने।  

 उनले पर्यटक पथप्रदर्शक नेपालको पर्यटन क्षेत्रको विकासका स्तम्भ भएको बताए। पर्यटक पथप्रदर्शकले पर्यटकलाई मात्र नभएर देशकै पर्यटन क्षेत्रको बाटो देखाइरहेको उनको भनाइ थियो।“पर्यटकलाई पथ प्रदर्शन गर्ने कुरा हाम्रो कर्तव्यभित्र पर्छ, यो कर्तव्यमा यहाँहरुले तदारुकताका साथ काम गर्नुहुनेछ, म यो मन्त्रालयको मन्त्रीको रुपमा के वचन दिलाउन चाहन्छु भने तपाईँहरुका जतिपनि मुद्दा छन् सरकारले समाधान  गर्छ,” उनले भने।

उनले काठमाडौँ केन्द्रित पर्यटक पथप्रदर्शकलाई सातै प्रदेशमा विस्तार गर्न एशोसियशन लाग्नुपर्नेमा जोड दिए। टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथ प्रदर्शकलाई कारबाही गरिनुपर्ने बताए।अध्यक्ष देवकोटाले नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दूतको कामसमेत पर्यटक पथप्रदर्शकले गरिरहेको बताए।हाल देशभर पाँच हजारभन्दा बढीले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र लिइसकेका छन्।