सार्वजनिक पदमा रहेका व्यक्तिहरुको कार्यशैली र जवाफदेहीता सधैँ जनचासोको विषय रहन्छ । जब एउटा उच्च पदस्थ अधिकारीमाथि नै आर्थिक अनियमितता र शक्तिको दुरूपयोगजस्ता गम्भीर आरोप लाग्छन् । त्यसले सिङ्गो प्रणालीमाथि नै प्रश्नचिह्न खडा गर्छ । मधेश प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एसपी राजकुमार सिलवालमाथि परेका दर्जनौँ उजुरीले यही कटु यथार्थलाई उजागर गरेका छन् । उनीमाथि लागेका आरोपहरुलाई गम्भीरतापूर्वक लिँदै प्रहरीको माथिल्लो निकायले नै छानबिन सुरू गर्नुले यो मामिला सामान्य छैन भन्ने देखाउँछ ।

प्रहरी, जसको प्रमुख जिम्मेवारी कानूनको पालना गराउने र जनतालाई सुरक्षा प्रदान गर्ने हो । त्यसका एक प्रमुख अधिकारी नै आर्थिक अनियमितता र कार्यशैलीमा लापरबाहीको आरोपमा छानबिनको घेरामा आउनु आफैमा चिन्ताको विषय हो । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई रातभर नियन्त्रणमा राखेकोदेखि लिएर चोरीका सवारी साधनलाई भन्सार कार्यालयमा नबुझाई आफैले प्रयोग गरेकोसम्मका आरोपले पद र शक्तिको कसरी दुरूपयोग हुनसक्छ भन्ने देखाउँछ । सबैभन्दा गम्भीर आरोप त सुनौलो बिहानी ट्रान्सपोर्टका दुई ट्रकबाट ८ लाख रूपैयाँ असुलेर छाडेको भन्ने छ । यदि यी आरोपहरु सत्य साबित भए भने यसले प्रहरी प्रशासनको छविमाथि ठूलो धक्का पु¥याउनेछ ।

यस्ता घटनाले आम जनतामा प्रहरीप्रतिको विश्वास घटाउँछ । जब प्रहरी नै कानूनको दायराभन्दा बाहिर गएर काम गर्न थाल्छ, तब न्याय र सुशासनको आशा कमजोर हुन्छ । यस सन्दर्भमा, मधेश प्रदेश प्रहरी कार्यालयले पाँच–पाँचवटा छानबिन समिति बनाएर काम गरिरहेको छ । उनीमाथि हुने छानबिन निष्पक्ष र स्वार्थरहित हुनुपर्छ । ता कि प्रहरी प्रशासनमाथि प्रश्न चिह्न नउठोस् । आफ्ना निकटस्थलाई जोगाउन खेल भएमा यसले जनतामाथि प्रहरीको विश्वास धुमिल हुनेछ । अर्कोतिर शान्ति सुरक्षार्थ खटिने सच्चा प्रहरीमाथि पनि गम्भीर प्रश्न उठ्नेछ । यसले आम जनतामा हतोत्साही बनाउनेछ । यसतर्फ प्रहरी प्रशासन र छानबिन समितिमा रहेकाहरुले गम्भीर भएर सोचून् । प्रहरीमाथि उठेका प्रश्नमा छानबिन समिति बनाएर उजुरीहरुमाथि अनुसन्धान सुरू गर्नु सकारात्मक कदम हो । तर यो छानबिन केवल औपचारिकतामा मात्र सीमित नभई निष्पक्ष र पारदर्शी हुनुपर्छ । उजुरी सत्य होस् वा असत्य, यसको वास्तविकता बाहिर आउनै पर्छ ।

अन्ततः यस प्रकरणको नतिजाले नेपाल प्रहरीभित्रको जवाफदेहीता र सुशासनको मापदण्ड कति बलियो छ भन्ने देखाउनेछ । दोषी ठहरिएकालाई कारबाही गर्नु मात्र पर्याप्त हुँदैन, भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि प्रणालीगत सुधारहरु पनि आवश्यक छन् । हरेक तहका अधिकारीहरुलाई नैतिक आचरण र पारदर्शिताको पाठ सिकाउनु आजको आवश्यकता हो । जनताको विश्वास जित्नु नै प्रहरीको सबैभन्दा ठूलो सफलता हो । यसतर्फ प्रहरी प्रशासनले हरदम कदल चालोस् ।