धरान । मधेश प्रदेशको व्यापारिक सहर वीरगञ्जमा हैजा फैलिएको छ । सुख्खा बन्दरगाहको रूपमा पनि परिचित वीरगञ्जमा एक सय ६१ जनामा झाडापखालाको नमुना परीक्षण गर्दा ७१ जनामा हैजा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
अहिले हैजा नियन्त्रणका लागि सरकारी पहल भइरहेको छ । हैजालाई नियन्त्रणमा लिनका लागि सरकारले जनचेतना कार्यक्रम, सुरक्षित खानेपानीको व्यवस्था र तत्काल उपचार सेवालाई प्रभावकारी बनाउने जनाएको छ । हैजा फैलिरहेसँगै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्यहाँको अवस्था अवलोकन गरेका छन् । उनले हैजाका बिरामीको उपचारमा कुनै पनि प्रकारको अभाव हुन नदिने गरी सरकारले काम गरिरहेको बताए । सोमबार वीरगञ्जका विभिन्न अस्पतालहरूको स्थलगत निरीक्षण गरी हैजा नियन्त्रण र बिरामीको उपचारका लागि आवश्यक कदम चाल्ने बताएका हुन् । हैजाबाट प्रभावित यस क्षेत्रमा बिरामीको अवस्था बुझ्न पुगेका मन्त्री पौडेलले सरकारी अस्पतालमा निःशुल्क उपचार सुनिश्चित गर्न निर्देशन दिए ।
निःशुल्क औषधिका लागि पहल
निरीक्षणका क्रममा एक बिरामीका आफन्तले डाक्टरले सिफारिस गरेको औषधि आफैले किन्नुपरेको गुनासो गरेपछि मन्त्री पौडेलले यस विषयमा तत्काल जानकारी लिएका थिए । अस्पताल प्रशासनसँग बुझ्दा स्वास्थ्यकर्मीले सलाइन र इन्जेक्सन मात्र निःशुल्क हुने तर अन्य औषधिहरूका लागि बिरामी आफैले पैसा तिर्नुपर्ने व्यवस्था रहेको जानकारी दिए । यसपछि मन्त्री पौडेलले उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिँदै बिरामीहरूलाई सम्पूर्ण औषधि निःशुल्क उपलब्ध गराउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।
निजी अस्पताललाई पनि सहयोगको आह्वान
हैजा महामारी नियन्त्रणका लागि निजी अस्पतालहरूलाई पनि सहयोग गर्न आह्वान गरिएको छ । मन्त्री पौडेलले भने, “यस्तो महामारीको समयमा सबैले मानवीयतालाई ख्याल गर्नुपर्छ । निजी अस्पतालहरूले पनि उपचारमा न्यूनतम् शुल्क लिई सहयोग गरेमा सरकारले उनीहरूलाई आवश्यक किट र अन्य औषधि उपलब्ध गराउन छलफल गर्न तयार छ ।” उनले निजी क्षेत्रले पनि यस समयमा समाजप्रति आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन् । मन्त्री पौडेलले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित सरोकारवालासँग हैजा रोकथाम र नियन्त्रणका उपायबारे विशेष छलफलसमेत गरेका छन् ।