लहान । सिरहाकोे लहान नगरपालिका–२३ गाढाका लखन रामको परिवारलाई राहत सहयोग गरिएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट दुर्घटनामा  परी नौ दिनअघि रामको मृत्यु भएपछि बिचल्लीमा परेको उनको परिवारलाई लहानका प्रमुख महेश चौधरीले राहत वितरण गरेका छन् ।

मृतक रामको श्रीमतीको एक वर्षअघि निधन भइसकेको र सुकुम्बासीसमेत रहेका रामको एक छोरा र एक छोरी आश्रयविहीन बनेका थिए । बिचल्ली बनेका परिवारबारे जानकारी आएपछि नगर प्रमुख चौधरी आफै पीडितको घरमै पुगेर परिवारलाई राहतस्वरूप एक क्विन्टल चामल, ५ किलो दाल, ५ किलो नुन, ३ लिटर तेल, चना, मटर, सोयाविनलगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख चौधरीले मृतक रामका छोराछोरीलाई आत्मबल प्रदान गर्दै किरिया खर्चको व्यवस्था गर्ने र परालको दुईवटा घर निर्माणका लागि जस्तापाता उपलब्ध गराइने जानकारी दिए । समाजसेवी दशन चौधरीका अनुसार स्थानीय समुदायले पनि पीडित परिवारको संरक्षण तथा सहयोगमा जुट्न आग्रह गरेका छन् । पीडित परिवारले नगर प्रमुख चौधरीको सहयोगप्रति आभार व्यक्त गर्दै कठिन परिस्थितिमा समेत नगरपालिकाले सहारा दिएको बताए । प्रमुख चौधरीले लहानको २४ सै वडाका दलित, गरिब, मुस्लिम, असहाय, गर्भवती महिला र ज्येष्ठ नागरिकहरूलाई प्रत्येक महिनाको २२ गते राहत वितरण गर्दै आएको बताए ।