धरान । सुनसरीको धरान उपमहानगरपालिका १५ संगमचोकस्थित दिप्लुङ बेकरीमा सोमबार राति सटर फोडी चोरी भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार सटरको चाबी फोडेर गल्लामा राखिएको केही रकम चोरी भएको जनाइएको छ । दिप्लुङ बेकरीका सञ्चालक बुद्ध राईका अनुसार ३० हजार रुपैयाँ चोरी गरिएको बताए । उनले भने, “बिहान सटर खोल्ने बेलामा हेर्दा त अलिकति खुल्लै थियो । भित्र पसेर हेर्दा गल्लामा राखिएको ३० हजार रुपैयाँ चोरी भएको थाहा पाइयो । प्रहरीलाई खबर गरेर सबै कुरा जानकारी दिएका छौँ ।”
बुद्धले भने, “पाँच हजार रुपैयाँ गल्ला रुघ्ने राखेका थियौँ । २५ हजार केकको सामान ल्याउन भनेर अलग्गै राखेका थियौँ ।” चोरहरुले रडमा कपडा हालेर चाबी फुटाएको र उक्त कपडासहितको रड पनि सोही स्थानमा छाडेर हिँडेको देखिएको उनले जनाए ।