वराहक्षेत्र । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने धरान–चतरा सडक–खण्डमा निर्माण हुन लागेको करिब ८ किमी सडक कालोपत्रे गर्नका लागि सडकको सर्वेक्षण सुरु गरिएको छ ।
यो सडकअन्तर्गत धरान उपमहानगरपालिका–१७ को सर्दूखोलादेखि वराहक्षेत्र नगरपालिका–१ को झण्डा चोकसम्म निर्माण गरिनेछ । सरोज निर्माण सेवा र प्रवीन निर्माण सेवाको संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) मा भ्याटबाहेक करिब ३० करोड रुपैयाँको लागतमा सडक निर्माण गरिने इन्जिनियर जुगलकिशोर साहले जानकारी दिए ।
सडकको चौडाइ १६ मिटर (५० फिट) हुनेछ, जसमा ७ मिटर भाग कालोपत्रे गरिनेछ । दायाँबायाँ दुवै किनारमा २–२ मिटरको पार्किङ, फुटपाथ र बसोबास क्षेत्र भएर बग्ने पानी निकासका लागि ढलसमेत निर्माण गरिनेछ ।
वराहक्षेत्रको झण्डा चोकदेखि खारखोला, बगुवा पुल हुँदै पटनाली गाउँसम्मको बस्ती क्षेत्रमा दुवै किनारमा ढल निकास प्रणाली बनाइनेछ । साथै, सडक खण्डका ४ स्थानमा बस बिसौनीका लागि पार्क निर्माण गरिने पनि साहले जानकारी दिए । निर्माण कार्य २०८४ साल साउन १५ गतेसम्ममा सम्पन्न गरिने लक्ष्य रहेको छ । हालसम्म २ किलोमिटर सडकको सर्वेक्षण सम्पन्न भइसकेको छ भने बाँकी सर्वे कार्य एक हप्ताभित्र सकिने जनाइएको छ ।
सर्वेपछि सडक विस्तारमा अवरोध हुने करिब १ हजार ५ सय रुख र विद्युत्का पोलहरूको व्यवस्थापन गरिनेछ । आगामी असोज महिनाबाट कालोपत्रे निर्माण कार्य सुरु गरिने योजना रहेको साहले बताए ।
करिब ५ वर्षअघि विस्तृत परियोजना प्रतिवेदन तयार गरिए पनि जग्गा छोड्नेबारे असहमतिका कारण निर्माण कार्य अघि बढ्न सकेको थिएन । तर, हाल आएर स्थानीयस्तरमा सहमति बनेपछि निर्माण प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ ।