सिरहा । मधेशको लाइफलाइन मानिने हुलाकी सडकअन्तर्गत कमला नदीको पुल १४ वर्ष अघिदेखि निर्माण भए पनि सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । 

लामो समयदेखि पुल नबन्दा त्यहाँका नागरिक बर्खे भेलमा समेत जोखिम मोलेरै भए पनि डुङ्गाको सहारामा आउजाउ गर्न बाध्य छन् । पुल नहुँदा बाढीले बगाएर कतिपयको ज्यान जाने गरेको स्थानीय देवकुमार यादवले बताए । “सरोकारवालाहरूको चासो नहुँदा यहाँका नागरिकले दुःख पाएका छन् । १४ वर्षसम्ममा एउटा पुल नबन्नु विडम्बना हो”–स्थानीय यादवले भने । 

“यी डुङ्गा नभइदिएका भए वारिका मानिस वारि, पारिका पारि नै रहने अवस्था हुन्थ्यो । किनकि त्यहाँ पुल नै छैन । पछिल्लो समय कमलामा आएको बाढीपछि अहिले यही दुई डुङ्गा सर्वसाधारणका लागि सहारा बनिरहेका छन्”– सिरहा नगरपालिका–६ का झगु सहनीले भने । 

मधेशको लाइफलाइन मानिने हुलाकी सडकअन्तर्गत कमला नदीको पुलको निर्माण सुरु भएको १४ वर्षभन्दा बढी भयो । चार सय ६९.२ मिटर लामो पुलको निर्माण २०६८ जेठ ३१ बाटै थालिएको थियो । पप्पु कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का पाएको सिरहा नगरपालिकाका मेयर डा. नवीन यादवले जानकारी दिए । पटक–पटक म्याद थप भएर १० वर्षमा निर्माणको अन्तिम चरणमा पुगेको यो पुल २०७८ असार १७ मा सामान्य बाढी थेग्न नसकी भासिएको थियो । पुल भासिएपछि पुनः पुनर्निर्माण थालिएको भनिए पनि काम सुस्त ढङ्गले भइरहेको स्थानीयले बताए । 

पुलको अभावमा सर्वसाधारणको सहारा बन्दै आएको डुङ्गाको यात्रा त्यति सुरक्षित भने हुँदैन । यसैकारण बर्सेनि कमलामा दुर्घटना भइरहन्छ । त्यहाँका नागरिक अगुवाहरूले कमला पुलका लागि पटक–पटक आन्दोलन नै गर्दै आएका छन् । स्थानीय सरकारको तर्फबाट ठेकेदार र सङ्घीय सरकारलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नगरेको नगर प्रमुख यादव बताउँछन् । यो पुल बन्दा प्रत्यक्षरूपमा दुई सय ६६ घरधुरी लाभान्वित हुने उनले बताए । 

यो पुल बने विराटनगरबाट इनरुवा राजविराज हुँदै सिधै मधेश प्रदेशको राजधानी जनकपुर जान छोटो दूरी हुनेछ ।