भद्रपुर । झापाका होटलहरूमा लागूऔषधको कारोबार हुने गरेको प्रहरीले जनाएको छ । 

झापाको बिर्तामोड लागूऔषध कारोबारको अखडा बनिरहेको बेला किनबेचको धन्दा पछिल्लो समय सैनिकमोडका होटलहरूमा हुँदै आएको प्रहरीको दाबी छ । होटलभित्रै लागूऔषध बेचबिखन धन्दा चलिरहेको पाइएको हो । प्रहरीले अहिलेसम्म होटलबाट लागूऔषधसहित छ जनालाई पक्राउ गरेको छ । यसै क्रममा प्रहरीले शनिबार साँझ बिर्तामोड–३ स्थित सैनिकमोडबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।

सैनिकमोडको सेभेन इन होटलको क्याबिनमा बिर्तामोड–५ शुभबिहानी टोल बस्ने ३३ वर्षीय सुरज गुरुङले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट ३ सय ९० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

उनले प्रयोग गरेको प्र. १–०१–०१२ प १०४६ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको डिएसपी खड्काले बताए ।

यसअघि गत साउन २६ गते सैनिकमोडकै मेची वान होटेलबाट लागूऔषधसहित पाँचजना युवालाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको जनाएको छ ।