धरान । झापाको बुद्धशान्ति गाउँपालिका–७ मा विश्वकै लामो र अत्यन्त विषालु सर्पमध्ये पर्ने राजगोमन (किङ कोब्रा) फेला परेको छ ।

करिब १५ फिट लामो उक्त सर्प स्थानीय हस्तबहादुर चौबिसेको घरमा फेला परेको ७ नं. वडाका वडाध्यक्ष चन्द्र भण्डारीले जानकारी दिए । स्थानीयले देखेपछि बिर्तामोडबाट सर्प उद्धारकर्ता श्याम प्रधान, वीरेन्द्र तिवारी र कृपेश कार्कीको टोलीले सर्पलाई सकुशल उद्धार गरेको उनले जानकारी दिए । 

उनका अनुसार राजगोमन सर्प विश्वकै लामो र विषालु सर्पमध्ये पर्दछ । यो सामान्यतया घना जङ्गल तथा वनक्षेत्रमा पाइन्छ । विषालु र आक्रामक स्वभावका कारण यसलाई अत्यन्त खतरनाक सर्प मानिन्छ ।

उद्धार टोलीका अनुसार सर्पलाई स्थानीय बासिन्दालाई कुनै क्षति नपुग्ने गरी सुरक्षित रूपमा वनक्षेत्रमा पुनः छाडिने बताए । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सर्पदंश विशेषज्ञ प्रा.डा. सञ्जीवकुमार शर्माका अनुसार राजगोमन संसारकै सबैभन्दा लामो र विषालु सर्प हो । यसको वैज्ञानिक नाम इउजष्यउजबनगक जबललबज हो । यो मुख्यतया दक्षिण र दक्षिण–पूर्वी एसियाका देशहरूमा पाइन्छ, जस्तैः भारत, नेपाल, भुटान, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, लाओस, मलेसिया र इन्डोनेसिया । नेपालमा पनि विशेषगरी तराई र चुरे क्षेत्रका जङ्गलहरूमा राजगोमन देखिन्छ ।

यो घना वनजङ्गल, बाँसका बोटबिरुवा भएको क्षेत्र, नदी किनार तथा पहाडी भू–भाग यसको मुख्य बासस्थान मानिन्छ । राजगोमन अरू सर्पहरूलाई नै खाएर बाँच्छ । त्यसैले यसलाई “सर्प खाने” सर्प पनि भनिन्छ । 

यसको विष न्यूरोटक्सिक हुन्छ । जसले सिधै स्नायु प्रणालीलाई असर गर्छ । राजगोमन स्वभावमा शान्त र एक्लोपन मन पराउने जीव हो । तर खतरा महसुस भएमा निकै आक्रामक र खतरनाक बन्न सक्छ । यसले विषदन्तको प्रयोग गरेर टोकेको खण्डमा केही घण्टामै मृत्यु हुन सक्छ ।