विराटनगर । मातृवियोगको पीडामा रहेका एक परिवारमाथि मध्यरातमा मादक पदार्थ सेवन गरेकाहरूले आक्रमण गरेका छन् । 

किरियामा बसेका विराटनगर महानगरपालिका–११ पिचरास्थित दुर्गा मन्दिरअगाडि बस्ने कामत परिवारमाथि आक्रमण भएको हो । सोमबार मध्यरातमा मदिराको नशामा लठ्ठ भएर आएका केही व्यक्तिले आमाको किरियामा बसेका किरण कामतसहित उनको पूरा परिवारमाथि आक्रमण गरेको छ । करिब साढे १२ बजेतिर ४९ वर्षीय किरण कामत आफ्नी आमा सारादादेवी कामतको निधनपछि किरियामा बसिरहेका बेला आक्रमणमा परेका हुन् । उनीसहित उनका बुबा हरिनारायण कामत, बहिनी काली कामत र भाइ सन्तोष कामतमाथि नै आक्रमण भएको हो ।

पीडामा डुबेको अवस्थामा स्थानीय प्रमोद सहनी र सुनिल सहनीले मादक   पदार्थ सेवन गरी लठ्ठ भई आएर विवाद झिकी आक्रमण गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन गरेर आएका उनीहरूले मनोज साहलाई अश्लील भाषा प्रयोग गरी गालीगलौज गरेका थिए । स्थानीय जग्गा व्यापारीसमेत रहेका उनीहरूले फरक व्यवहार देखाएपछि किरियामा बसेका किरणले “यहाँ आएर यसरी गालीगलौज नगर्नुहोस्, हाम्रो घरमा जूठो परेको छ” भनी जानका लागि आग्रह गरेका थिए । 

सोही कुराका कारण उल्टो निहुँ खोजेर उनीहरूमाथि नै आक्रमण गरेको प्रत्यक्षदर्शी बताउँछन् । पीडित किरणका अनुसार आफूले भनेको केही समयपश्चात् नै प्रमोद र सुनिल आफूमाथि आइलागेको बताए । “मैले त्यति भन्नासाथ उनीहरूले ‘तँ सिकाउने ?’ भन्दै हातमा रहेको बाँसको भाटाले ममाथि अन्धाधुन्ध प्रहार गर्न थाले”–आफ्नो देब्रे खुट्टाको गहिरो चोट देखाउँदै किरणले भने । किरियामा बसेका व्यक्तिमाथि भाटा प्रहार हुन थालेपछि घरमा कोलाहल मच्चिएको थियो । दाजुलाई निर्घात कुटपिट गरिरहेको देखेपछि ४० वर्षीया बहिनी काली कामत छुट्याउन अघि बढ्दा उनीमाथि पनि आक्रमणकारीहरूले बाँसको भाटा बर्साएको किरण बताउँछन् ।

 आफूलाई पनि बाँसको भाटाले हिर्काएको बताउँदै सुनिलले देब्रे हातमा टोकिदिएको उनले बताइन् । “दाजुलाई बचाउन जाँदा मलाई पनि भाटाले हाने र हातमा पशुले जस्तै टोकिदियो”–चोट देखाउँदै उनले भनिन् । 

आफ्ना दाजु र दिदीमाथि आक्रमण भएपछि कान्छो भाइ सन्तोष कामत र ७१ वर्षीय वृद्ध बुबा हरिनारायण कामत पनि छुट्याउनका लागि पुगेका थिए । तर नशामा लठ्ठ भएका उनीहरू आफूहरूमाथि पनि आइलागेको बताए । छुट्याउन गएका सन्तोषको मुख र निधारमा चोट लागेको छ भने वृद्ध हरिनारायणको हातमा पनि चोट लागेको छ ।

घटनाको मुख्य कारण जग्गा विवाद

बर्बर आक्रमणका पछाडि वर्षौंदेखि चलिरहेको एक जटिल जग्गा विवाद लुकेको छ ।

घटनाको केन्द्रमा विराटनगर–११ को कित्ता नम्बर ८८ को एक कठ्ठा जग्गा छ; जुन डेलादेवी दाहालको नाममा दर्ता छ । तर, यो जग्गा विगत ३५ वर्षदेखि हरिनारायण कामतको परिवारले भोगचलन गर्दै आएको छ । यो विवाद अदालतसम्म पनि पुगेको थियो । जिल्ला अदालत हुँदै उच्च अदालतले समेत वि.सं. २०५३ मा हरिनारायण कामतको पक्षमा फैसला गर्दै उक्त जग्गामा उनको बसोबासको हक कायम गरिदिएको थियो । पीडित परिवारका सदस्य सन्तोष कामत भन्छन्, “अदालतले समेत हामीले भोगचलन गर्दै आएको जग्गामा हाम्रो हक स्थापित गरिदिएको छ । मुद्दा अहिले पनि विचाराधीन अवस्थामै छ ।”

कानूनी लडाइँमा कमजोर भएपछि प्रतिपक्षीले बल प्रयोगको बाटो रोजेको देखिएको छ । जग्गाधनी डेलादेवी दाहालले उक्त जग्गाको सबै कारोबार र मुद्दा मामिला हेर्नका लागि आक्रमणकारीमध्येका ३५ वर्षीय सुनिल सहनीलाई वारेसनामा दिएकी छन् । यही वारेसनामाको आडमा सुनिल र उनका साथी प्रमोदले कामत परिवारलाई उक्त जग्गाबाट हटाउन अनेकौं पटक धम्की र दबाव दिँदै आएको परिवारको आरोप छ । “उनीहरू हामीलाई यहाँबाट जसरी पनि हटाउन चाहन्छन् । अदालतको फैसला पनि मान्दैनन् । त्यही जग्गाको निहुँमा बेलाबेला आएर थर्काउने, धम्काउने गर्थे” सन्तोषले भने, “अहिले आमा बित्नुभएको र हामी सबैभन्दा कमजोर भएको मौका पारेर उनीहरूले यो आक्रमण गरे ।”

मध्यरातमा भएको यो घटनापछि पीडित परिवारले प्रहरीलाई खबर गरेको थियो । खबर पाउनासाथ प्रहरी चौकी बखरीबाट वरिष्ठ सइको टोली घटनास्थल पुगेको थियो । तर प्रहरी पुग्नुअघि नै आक्रमणकारी प्रमोद र सुनिल फरार भएका थिए । त्यसलगत्तै वडा प्रहरी कार्यालय विराटनगरबाट असइसहितको टोलीले राति १ बजेतिर सुनिलको घरमा छापा मारे पनि उनी फेला नपरेको प्रहरीले जनाएको छ । मङ्गलबार बिहान पीडित परिवारले जिल्ला प्रहरी कार्यालय मोरङमा उनीहरूविरुद्ध किटानी जाहेरी दिएको छ ।

उजुरी दर्ता भएलगत्तै दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालले भनिन्, “पीडित परिवारबाट उजुरी परेपछि हामीले आरोपितहरूलाई नियन्त्रणमा लिएका छौँ । घटना अत्यन्तै संवेदनशील प्रकृतिको देखिन्छ । हामीले यस विषयमा गहिरो अनुसन्धान गरिरहेका छौँ ।” उनीहरूको एउटै माग छ,“संस्कार र मानवता दुवैलाई कुल्चेर गरिएको यो अपराधका दोषीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ ।”

kiriya2