धरान /भारतको हरियाण प्रहरीले हिरासतमा रहेका नेपालीलाई आतङकबादी भन्दै यातना दिने गरेको रहस्य सार्बजनिक भएको छ । हरियाणको सतलोक आश्रमबाट डेड बर्ष अघि पक्राउ परेका उनीहरुलाई हिरासतमै निर्बस्त्र पारेर कुटपिट गर्ने तथा अमानबिय ब्यबाहार हुने गरेको जमानत मुक्त भएर फर्किएका नेपालीहरुले बताएका छन् ।

हिरासतमा रहेका सबै नेपाली निर्देश रहेको उनीहरुले बताएका छन् । ‘आफुहरुलाई लगाईएको धार्मिक मुद्धामा प्रमाण नपुगेपछि स्थानिय प्रशासनले भारु एक लाख रुपैया जमानत तोकेको थियो । त्यो तिर्न नसक्दा साथीहरु हिरासतमा चरम यातना खपेर बसिरहनु भएको छ’ फर्किएका एक नेपालीले बताए । हिरासतमा राखिएकालाई निर्वस्त्र पारी कुटपिट गर्नाका साथै नगद, घडी र सुनको सिक्री समेत भारतीय प्रहरीले लुटेको छ । २०७१ साल कात्तिकदेखि मङ्सिर २ गतेसम्म सतलोक आश्रममा प्रहरीले अबान्छित गतिबिधी हुने गरेको भन्दै कारबाही गरेको थियो । त्यस क्रममा २४ नेपाली श्रद्धालुलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये भक्तपुरका उमराज ढकाल, सुनसरीका मुकेश कार्की, महोत्तरीका शिवपूजन साह, सिरहाका रामसोगारथ महतो, राजेन्द्र सादा, शिवचन्द्र यादव, भूप सिंह र उपेन्द्रप्रसाद सिंह, धनुषाका गणेश महतो, सन्तोष साह, रामचन्द्र यादव र अन्जारूल मियाँ, पाँचथरका गणेश गिरी, रौतहटका दिनेश महतो र उमेश महतो तथा कञ्चनपुरका सुरेश भट्टलाई केही महिना हिरासतमा राखेपछि कुनै कसुर प्रमाणित नभए पनि अदालतले भारु एक लाख जमानत ठहर गरेको थियो । नेपाल फर्किएकाहरुले दिएको जानकारी अनुसार मोरङका सुरेश राई, सुनसरीका लक्ष्मण बस्नेत, काठमाडौँका राजकुमार गिरी, धनुषाका ईश्वर श्रेष्ठ, बर्दियाका नन्दराम खैराहा, कञ्चनपुरका योगेन्द्र चन्द, सिरहाका विजय साह र विनोद यादव हिरासतमै राखी राजद्रोही मुद्दा लगाउने षड्यन्त्र स्थानिय प्रहरीले गरिरहेको छ । उनीहरुले भारतीय हिरासतमा रहेका नेपालीहरुलाई तत्काल हिरासत मुक्त गर्न नेपाल सरकार,मानबअधिकारबादी,पत्रकार लगायतलाई आग्रह गरेका छन् ।