
भोजपुर/ भोजपुर जिल्लाका भूकम्पपीडितलाई हालसम्म छ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजन पाण्डेका अनुसार भूकम्पमा घर पूर्ण र आंशिकरूपमा क्षति भएको तथा ज्यान गुमाएका परिवारलाई गरी ६ करोड २९ लाख ५३ हजार रुपैयाँ राहतस्वरुप वितरण गरिएको हो ।
भोजपुरमा भूकम्पपीडितका लागि आएको कूल ६ करोड ५० लाखमध्ये सो रकम वितरण गरिएको सहायक प्रजिअ पाण्डेले जानकारी दिए ।भोजपुरमा रहेका दुई नगरपालिका र ५४ वटा गाविसमा भूकम्पका कारण तीन हजार सात सय ५१ घर पूर्णरूपमा र ६ हजार पाँच सय ६१ घरमा आंशिकरूपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पबाट भोजपुरको दोभाने गाविस सबैभन्दा बढी प्रभावित रहेको पाइएको छ ।
दोभानेमा सात सय ८० घर पूर्ण र दुई सय ४० घरमा आंशिकरूपमा क्षति पुगेको थियो । दोभानेमा दुई सय ३३ घरले पाँच हजारका दरले १५ लाख ४० हजार रुपैयाँ लगेका छन् भने तीन हजारका दरले सात लाख २० हजार र १५ हजारका दरले राहत रकमबापत ३४ लाख ९५ हजार गरी जम्मा ५७ लाख ५५ हजार रुपैयाँ वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार पाँच हजारका दरले एक हजार आठ सय ७४ घरले राहत रकमबापत एक करोड ५० लाख ५० हजार रुपैयाँ पाएका छन् । यसैगरी, तीन हजारका दरले एक करोड ८९ लाख ९३ हजार रुपैयाँ वितरण गरिएको छ । यस्तै, भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई आठ लाख रुपैयाँ प्रदान गरिएको सहायक प्रजिअ पाण्डेको भनाइ छ । जिल्ला प्रशासन कार्यालयका अनुसार १५ हजारका दरले दुई करोड ८१ लाख १० हजार रुपैयाँ भूकम्पपीडितलाई राहतस्वरुप वितरण गरिएको छ ।