काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्ने भएका छन् ।
राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षीलाई स्वागत गर्नेछिन । भारतीय राष्ट्रपतिले राष्ट्रपति भण्डारीलाई शीतलनिवासमा भेटवार्ता हुने छ । उनकाे सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रायले जनाएको छ ।
त्यसैगरी राष्ट्रपति मुखर्जी नेपालका लागि भारतीय राजदूत रणजीत रायले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने छन ।
भारतका राष्ट्रपतिले कात्तिक १८ गते पशुपतिनाथको पूजाअर्चना गर्ने छन् । सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ । भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालामा सम्भाषण दिने छन ।
राष्ट्रपति मुखर्जी यहाँ रहँदा राजनीतिक दलका नेताहरुले उनीसँग शिष्टाचार भेट गर्ने छन् । भारतका राष्ट्रपतिले कात्तिक १९ गते जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने छन । उनको सम्मानमा नागरिक स्वागत आयोजना हुनेछ । सोही दिन राष्ट्रपति मुखर्जी पोखराको भ्रमणमा पनि जाने छन ।। भारतका राष्ट्रपतिबाट १८ वर्षपछि नेपालको भ्रमण हुन लागेको हो । यसअघि भारतका राष्ट्रपति के आर नारायणन नेपालको भ्रमणमा आएका थिए ।
राष्ट्रपति मुखर्जी कात्तिक १९ गते काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस