धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको सोमबार सम्पन्न चुनावको मतपरिणामअनुसार अध्यक्षका प्रत्यासी गोपाल श्रेष्ठले कुल मतको करिब ६९ प्रतिशत मत प्राप्त गर्दै विजयी भएका छन् ।
निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माका अनुसार सोमबारको चुनावमा दुई हजार तीन सय ३९ मत खसेको थियो । मतगणनाअनुसार गोपाल श्रेष्ठले एक हजार ६ सय ५ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी शिवराज श्रेष्ठको मतभन्दा दोब्बर बढीले जितेका हुन् । श्रेष्ठले ६ सय ४७ मत मात्रै प्राप्त गरेका थिए । कुल दुई हजार ९ सय सात मतमध्ये ८० दशमलव ४६ प्रतिशत मत खसेको थियो । खसेको मतमध्ये करिब ६९ प्रतिशत मत गोपाल श्रेष्ठले पाएका हुन् । शिवराज श्रेष्ठ यसअघि विजय श्रेष्ठसँग पराजित भएका थिए । अध्यक्षमा निर्वाचित भएका गोपाल श्रेष्ठले कुल खसेको मतको ६८ दशमलव ६१ प्रतिशत मत ल्याएका हुन् । यता शिवराज श्रेष्ठले भने २७ दशमलव ७७ प्रतिशत मात्रै मत प्राप्त गरेका छन् ।
शिवराज श्रेष्ठलाई एमालेको संस्थापन पक्ष र नेपाली काङ्ग्रेसका केहीले समर्थन गरेका थिए । पराजित श्रेष्ठको पक्षमा नेपाली काङ्ग्रेस खुलेर भने लागेको थिएन । यता एमाले चाहिँ खुलेरै लागेको थियो । निर्वाचित अध्यक्ष गोपाल श्रेष्ठ पनि एमाले समर्थित व्यापारी हुन् । उनलाई पनि एमालेका केही पक्षले साथसमर्थन गरेका थिए भने नेपाली काङ्ग्रेसले पनि समर्थन गरेको थियो ।
निर्वाचित अध्यक्ष श्रेष्ठले निर्वाचनका लागि झण्डै डेढ वर्षअघिदेखि तयारी थालेका थिए । त्यो तयारीले सार्थकता पाएको छ भने पराजित बनेका श्रेष्ठ भित्रैभित्रै तयारी गरे पनि बाहिर अन्तिममा आएर मात्रै खुलेका हुन् । उनले सुनसरी उद्योग वाणिज्य सङ्घमा ‘सिन्डिकेट’ भएकाले र त्यसलाई तोड्न आफ्नो उम्मेदवारी रहेको बताएका थिए । जित्ने पक्षले भने लोकतान्त्रिक पद्दतिअनुसार निर्वाचन हुने भएकाले त्यसलाई ‘सिन्डिकेट’ भनेर अपव्याख्या गरिएको बताएका थिए ।
एसोसिएटतर्फको एकजना सदस्यबाहेक वाणिज्य, उद्योग सबैतिर गोपाल श्रेष्ठको समूहले बाजी मारेको छ । वाणिज्यतर्फ अमित अग्रहरी (९ सय १), किसन मास्के (७ सय ८५), जयप्रकाश शर्मा (८ सय ५१), नवीन राजभण्डारी (९ सय २९), शशी साह (८ सय २०) र शैलेशकुमार आचार्य प्रमोद (८ सय ९९) मत ल्याउँदै विजयी भएका छन् । वाणिज्यमा महिलाबाहेक १५ जनाले प्रतिस्पर्धा गरेका थिए । निर्वाचन अधिकृत डा. शर्माले सार्वजनिक गरेको सूचनाका आधारमा ७ जना पराजित भएका हुन् ।
जसमा शिवराज श्रेष्ठ समूहका अर्जुन श्रेष्ठ (४ सय १), उपेन्द्र चाम्लिङ (४ सय ८१), कृष्ण ठाकुर (२ सय ६०), चन्द्रबहादुर सुवेदी (२ सय ९०), राजेशकुमार अग्रवाल (४ सय १५), सागर प्रसाईं (४ सय ८६) र सीताराम आचार्य (५ सय २७) मत ल्याएका थिए । उद्योगतर्फकै महिलामा वर्षा अग्रवाल श्रेष्ठले ८ सय ८० मत ल्याउँदै प्रत्यासी ममता शाक्यलाई पराजित गरिन् । शाक्यले ४ सय ५३ मत ल्याएकी थिइन् । शाक्य यसअघि पनि पराजित भएकी थिइन् ।
उद्योगतर्फ कृष्णप्रसाद पाठक (४ सय ८१), प्रभाव खतिवडा (५ सय १), विष्णु बराल (५ सय ५०) र महेन्द्र प्रधान (५ सय ४६) ले मत ल्याउँदै विजयी भएका छन् । यता शिवराज श्रेष्ठ समूहबाट उठेका उमेशकुमार अग्रवाल (२ सय १३), खड्गबहादुर बस्नेत (२ सय १६) र शिवानन्द साह (२ सय १३) मत ल्याएका थिए । उद्योगतर्फको महिलामा गोपाल श्रेष्ठ समूहकी मीना राई मगर निर्विरोध विजयी भएकी थिइन् । यस्तै वस्तुगततर्फ पनि गोपाल समूहकै नवीनकुमार तामाङ र नारायण लिम्बू निर्विरोध विजयी भएका थिए ।
एसोसिएटमा भने शिवराज श्रेष्ठ समूहका राजु साह विजयी भएका छन् । उनले ७५ मत प्राप्त गरेका छन् । उनी यसअघि पनि सदस्यमा निर्वाचित भएका थिए । उनी पूर्व अध्यक्ष राजेन्द्र साहका छोरा हुन् । अन्य दुईजना भने गोपाल समूहबाट विजयी भएका छन् । राजेश अग्रवाल (९०) र ललितकुमार अग्रवाल (१ सय १७) मत ल्याउँदै विजयी भएका हुन् । गोपाल समूहका अशोक जैन डागाले ६२ मत मात्रै प्राप्त गरे भने शिवराज समूहका मनिष अग्रवालले ५९ मत प्राप्त गरेका थिए ।