धरान । सुनसरीको धरानमा अन्तर स्कुल मेजर श्रवणकुमार लिम्बू मेमोरियल डिपो बास्केटबल रनिङ कपको चौथो संस्करण आउँदो साउन १५ गतेदेखि हुने भएको छ ।
आयोजक डिपो स्कुलले आज (सोमबार) पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा प्रदेशभरिका स्कुलहरू सहभागी हुन पाउने कार्यक्रम संयोजक खड्गशम्शेर लिम्बूले जानकारी दिए । कक्षा १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी स्कुल स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका मजेर लिम्बूको स्मृतिमा बास्केबटल खेलाउन थालिएको हो ।
प्रतियोगिताका लागि परिवारले सहयोग गरेको छ । डिपो स्कुल स्थापनार्थ मेजर लिम्बूले महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष अम्बरबहादुर लिम्बू पन्धाकले जानकारी दिए । “उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै स्कुलले मेजर सापको नाममा बास्केटबल खेलाउन थालेको हो” अध्यक्ष लिम्बूले भने ।
मेजर लिम्बूको निधन कोरोना कालमा २०७८ साउन १५ गते नै भएको थियो । दिवङ्गत भएको दिनलाई स्मृति दिवसको रूपमा मनाउँदै सोही दिनबाट बास्केटबल प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगिताको फाइनल साउन १९ गते हुने आयोजकले जनाएको छ ।
विजेताले टिमले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाएको छ । यस्तै उपविजेताले नगद १० हजार पाँच सय रुपैयाँसहित ट्रफी पाउने छ । यस्तै मूल्यवान् खेलाडी, उच्च अङ्क र उदयीमान खेलाडीलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिताको संयोजक धरान बास्केटबल सङ्घ र सुनसरी बास्केटबल सङ्घले गरेको छ । प्रतियोगितामा १६ वटा टिमलाई मात्रै प्रवेश गराइने भएको छ । बास्केटबल प्रशिक्षक विकास चाम्लिङले भने, “फस्ट कम फस्ट सर्भिस जस्तै जो सुरुमा आउँछ उसैलाई प्राथमिकतामा राखेर प्रवेश गराउँछौँ । १६ वटा टिम पुगेपछि बन्द गर्छौं ।”