धरान । भोजपुरको आमचोकमा चट्याङ लागेर गम्भीर घाइते भएका परिवारजनलाई आमचोक सरोकार समाज सुनसरीले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

आमचोक–३ निवासी ४० वर्षीय भरत राई, श्रीमती देविका र छोरी सुरक्षा तीनै जना चट्याङ लागेर गम्भीर घाइते बनेका थिए । उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  उपचार भइरहेको छ । 

समाजका अध्यक्ष राजेन्द्र राईको नेतृत्वमा आइतबार अस्पतालमै पुगेर ३ लाख ६० हजार रकम हस्तान्तरण गरिएको हो । 

देशविदेशमा रहेका आमचोकसँग सरोेकार राख्ने दाताहरूसँग अनुरोध गरी सहयोग रकम जुटाइएको थियो । पूर्व प्रतिनिधि सभा सदस्य जयकुमार राई, समाजका उपाध्यक्षद्वय उत्तम राई, देवराज राईलगायतको उपस्थितिमा बिरामीका आफन्तलाई  रकम हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा ससस्या भएको थियो । सहयोगले ठूलो राहत मिलेको बिरामीका आफन्तहरूले बताएका छन् । 

आमचोक थातथलो भई सुनसरीमा रहेकाहरूको संस्था आमचोक सरोकार समाजले आमचोकवासीको समस्यामा विभिन्न सहयोग गर्दै आएको छ । आमचोक सरोकार समाज सुनसरीले मानव सेवाका लागि एम्बुलेन्स खरिद गर्न अभियान चलाउने भएको छ । 

समाजका अध्यक्ष राजेन्द्र राईका अनुसार आमचोकवासीका लागि सहुलियतमा एम्बुलेन्स सेवा दिन संस्थाको नेतृत्वमा खरिद गर्न लागिएको हो । एम्बुलेन्सका लागि  समाजसेवी बालकुमारी राईले ५० हजार सहयोग गर्ने घोषणा गरेकी छन् । त्यस्तै धरान–६ का व्यवसायी प्रकाश श्रेष्ठले २५ हजार ५ सय ५५ र पत्रकार रणध्वज लोहारले ५ हजार नगद सहयोग गर्ने घोषणा गरेका छन् ।  

एम्बुलेन्स सञ्चालनका लागि आमचोक गाउँपालिकाले पनि सहयोग गर्ने पालिका अध्यक्ष अशोक राईले जानकारी दिए ।