काठमाडौ / रोमन म्यागासेसे पुरस्कार विजेता एवम् समाजसेवी महावीर पुनले आफूले अहिलेसम्म पाएका तक्मा तथा मेडलहरु लिलाम गर्ने भएका छन् । पछिल्ला दिनमा राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि अर्थ संकलनमा जुटेका उनले आफ्ना तक्मा तथा मेडल बेच्ने घोषणा गरेका हुन् ।
‘पदकहरु विक्रीमा राखेर मैले सरकार र संस्थाहरु, जसले मेडल दिए, उनीहरुको अपमान गर्न खोजेको होइन, पुनले भनेका छन्, पदकहरुको उपयोग सही कामका लागि गर्न खोजेको हुँ ।’ तक्मा तथा पदक विक्रीबाट आउने रकम राष्ट्रिय आविस्कार केन्द्र स्थापनामा खर्च गरिने उनको भनाइ छ। उनले लिलामीका लागि राखेका तक्मा तथा पदकहरुमा म्यागसेसे पदक पनि छ। यस्तै नेपाल सरकारले दिएको दुई राष्ट्रदीप पदक, इन्टरनेट हल अफ फेम, होनर ग्राजुएट र डा. हर्कगुरुङ पर्वतीय पुरस्कार छन् ।
आफूलाई भविश्यमा राम्रो काम गरोस् भनेर नै पदक दिइएको भन्दै उनले पदक नबेच्न सुझाव नदिन समेत आग्रह गरेका छन् । पुनले सामाजिक सञ्जाल फेसबुकमा तक्मा अर्थात् मेडल संग्रह गर्न इच्छुकलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।
‘मैले २५ वर्षसम्म समाज सेवाको काम गर्दा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्था र नेपाल सरकारबाट समेत गरेर विभिन्न किसिमका पदक पाएको छु, ती पदक कोठाको कुनामा बसिरहेका छन्’, पुनले लेखेका छन्, यदि पुराना पदकहरुको संग्रहकर्ता कोही हुनुहुन्छ र मैले पाएका पदक किनेर सुरक्षित साथ संग्रह गर्न चाहनुुन्छ भने इमेलमा सम्पर्क गर्नुहोला ।’ पुन पछिल्ला दिनमा राष्ट्रिय आविष्कार केन्द्र स्थापनामा सक्रिय भएका छन्। केन्द्र स्थापनाका लागि सरकारले सहयोग नगरेपछि उनले केही समयअघि मात्र आफ्नो सबै जग्गा बिक्री गरेका थिए ।