
- एकाग्र हुन नसक्नु, प्रस्ट रुपमा सोच्न नसक्नु। - आफ्नो समानहरु सजिलै अरुलाई सुम्पिनु। - आफू टाढा जान खोजेको अथवा सम्बन्धबाट टाढा बस्न खोजेको जस्तो देखाउनु। - व्यावहारमा एका-एक परिवर्तन देखिँदै जानु। विशेषगरी, छट्पटाउने अनि तुरुन्त सान्त भएर बस्नु। - पहिला रमाइलो लाग्ने कामहरुमा रुचि नदेखाउनु, वास्तै नगर्नु। - आफैँलाई बिगार गर्ने व्यहार देखाउनु (जस्तैः अत्यधिक मदिरा सेवन, नशालु पदार्थ सेवन, शरीरमा चोटपटक लगाउने आदि)। - साथीसँग टाढा बस्न खोज्नु अथवा एकान्त रुचाउनु। - एका-एक काममा, परिवारमा समस्याहरु देखिनु। - मृत्यु अथवा आत्महत्याबारे कुरा गर्नु। - आफैँलाई नोक्सान गर्ने बारेमा कुरा गर्नु। - निसहाय अथवा ग्लानि अनुभव गर्नु। - निद्रा र खाना खाने बानीमा परिवर्तन अर्थात अनिच्छा देखाउनु। - आत्महत्याका लागि तयारी गर्नु (जस्तैः डोरी घरमा राख्ने, विषालू पदार्थ राख्ने) आदि।
निम्न अवस्था भएमा आत्महत्याका व्यवहारहरु देखिने गर्छन्: - उदासीपन, दिक्दारीपन। - अत्यधिक निरास अथवा अत्यधिक हर्सित हुने भएमा। - नशा तथा दुर्व्यसनी भएमा। - जीवनमा घटेका अकल्पनीय घटनाहरुले दिने तनाव। - तनावयुक्त जीवन (आर्थिक अभाव, परिवारिक सम्बन्धमा दरार, प्रेममा धोका आदि)। - अन्य मानसिक समस्याहरु। आत्महत्या गर्ने व्यक्तिहरुले जीवनमा भएका घटनासँग संघर्ष गर्न नसकिँदो रहेछ भन्ने कुरामा विश्वास गर्न थाल्छन्। ती घटनाक्रमबाट उनीहरु टाढा जाने प्रयास गर्छन्। आत्महत्या गर्ने व्यक्तिहरुले निम्न कुराबाट राहत खोजिरहेका हुन्छन्: - लज्जाबोध, ग्लानि अथवा अरुका लागि भार बनेर बसेको भावना। - अरुको सिकार बनेको अथवा अरुद्वारा दुरुपयोग भएको भावना। - तिरस्कृत भएको, एक्लोपन अथवा सबैबाट त्यागिएको भावना। आत्महत्याको खतरामा रहेका व्यक्तिहरु प्रायः उपचारको खोजीमा लाग्दैनन्। किनकि उनीहरुको समस्या कुनै पनि कुराले ठिक हुँदैन भन्ने भ्रममा गहिरो विस्वास गर्छन्। फेरि मानसिक अवस्थाबारे चासो र जानकारी राख्ने चलन हाम्रोमा कमै छ। मानसिक रोगका बिरामीहरुलाई समेत अन्तिम चरणमा पुगेपछि मात्र उपचारका लागि ल्याइने गरिन्छ। जसले गर्दा आत्महत्या गर्न तम्सिनेहरुमा आफूले निर्धारण गरेका कुरामाथिको विश्वास झन् बढ्दै जान्छ। आत्महत्या गर्न रुचाउने मानिसभित्र केही कुरा गहिरो गरी गडेर बसेका हुन्छन्। उनीहरुले कुनै पनि कुराले र कसैले पनि मलाई सहयोग गर्दैन भन्ने ठानेका हुन्छन्। यस्तै, आफूलाई भएको समस्या कसैलाई भन्नुको कुनै अर्थ छैन भन्ने विश्वासमा परेका हुन्छन्। सहयोगका लागि भन्नु भनेको आफ्नो कमजोरी देखाउनु हो भन्ने भ्रमले उनीहरुको मनमा जरा गाडेको हुन्छ। धेरैले यो एक प्रकारको रोग हो भन्ने स्वीकार्न सकिरहेका हुँदैनन् र कहाँ सहयोग माग्ने या कसलाई समस्या सुनाउने भन्नेबारे थाह पाएका हुँदैनन्। तसर्थ, मानिसले सामान्यभन्दा केही फरक लाग्ने व्यवहार देखाउन थाल्छ, हतास र निरास मात्र हुन्छ, एकान्त रुचाउँछ भने उसलाई परिवार र साथीभाइले निगरानी बढाउनुपर्छ। सामाजिक र पारिवारिक मान्यताका कारण मानसिक तनावमा पुगेका मानिसलाई उपचार गराउन लैजाने चलन छैन। हरेक मानसिक समस्यालाई 'पागल/बहुला' को जनरले हेर्ने हाम्रो सामाजिक चेतना पनि ठूलो चुनौती बनेर बसेको छ।