तपाई आराम हुनुहुन्छ होला र कुशलताको कामना गर्दछु । म तपाईले नचिनेको सल्यानको एउटा किसान हुँ । मेरो नाम कृष्णबहादुर बुढामगर हो । मेरो घर सल्यान जिल्लाको कालागाँउ, वडा नं ९ मा पर्छ । मन्त्रीज्यू, मैले पनि तपाईलाई प्रत्यक्ष देख्न पाएको छैन् । पत्रिकामा र टिभीमा मात्र देखेको हुँ । देख–भेट नभएपनि तपाई हामी सबैको साझा मन्त्री हुनुहुन्छ । त्यसैले आफ्नो देशको मन्त्रीलाई ठूलो विपत आइलागेकाले पहिलोपटक पत्र लेख्दैछु । यतिबेला म आफ्नी प्राणप्यारी श्रीमती मनमाया बुढामगरका साथ काठमाडौंको सिभिल अस्पतालमा छटपटाइरहेको छु ।

उनी अहिले ३२ बर्षकी भईन् । डाक्टरका अनुसार उनको बोनम्यारो बिग्रिएको छ रे । फेर्नुपर्छ भनेका छन् । इन्जेक्सन दिएर फेर्न १० लाख लाग्छ रे, अप्रेशन गरेर फेर्दा १५ लाख लाग्छ रे । हामीजस्ता दुई छाक खान नसक्ने सामान्य हैसियतका मानिसलाई रोगब्याधीले नसताए हुन्थ्यो नी । तर के गर्नु दैव हामीमाथि नै लाग्दो रहेछ । हामी सल्यानका बाँझा डाँडा–पाखाका कुटो कोदालो गरेर ३ बच्चालाई पाल्दै, गाँउमा खोले सिस्नु खाएर आनन्दले दुःख सुख बसेका थियौँ । खर्चको अभाव टार्न, बच्चाबच्ची पढाउनका लागि बर्षमा तीन÷चार महिना भारतमा गएर भारी बोक्ने गरेको छु । खेतीपातीबाट ४ महिना भन्दा बढी खान पुग्दैन । उनी बिरामी भएको ४ महिना भयो । डाक्टरले ढाडको हड्डीभित्र मासी छैन्, बदल्नुपर्छ भनेका छन् । शुरुमा उनको नाकबाट निरन्तर रुपमा रगत जाने गरेको थियो । आर्थिक अभाव थियो, उपचार गराउन सकिएन् । पछि हात, गोडा, जिउ सबै पहेँलो हुन् थाल्यो । रुकुम अस्पतालमा उपचार गराउन लगियो । अस्पतालले यहाँ सकिँदैन नेपालगञ्ज लैजाउ भन्यो । त्यसपछि नेपालगञ्ज ल्याइयो, त्यहाँपनि उपचार हुन् सकेन । नेपालगञ्ज अस्पतालमा पाँच पोका सेतो र रातो रगत चढाइयो, त्यहाँ बिरामीलाई रेगुलर रगत चढाइरहनुपर्छ, काठमाडौं लैजाउ भन्यो । पछि पनि रगत चढाँउनुपर्छ भनेर दुई पोका रातो र ४ पोका सेतो रगत चढाइँयो । त्यसपछि काठमाडौं आएर वीर अस्पतालमा देखाइयो । वीर अस्पतालले पनि नसकेर सिभिल अस्पतालमा पठाइदिएको छ । हामी काठमाडौं आएको डेढ महिना भइसक्यो । अहिले हामी गेष्ट हाउसमा बसिरहेका छौँ । खान बस्न मात्रै दिनको ९ सय देखि हजार रुपैयाँ लाग्ने गरेको छ । अहिलेसम्म ऋण गरेको ५ लाख रुपैयाँ खर्च भइसक्यो । बुवा र दाईले गाँउबाट ऋण गरेर पैसा पठाइरहनुभएको छ । हाम्रा १२ बर्षको एक छोरा, १० र ४ बर्षका दुई छन् । घरमा बुद्ध बा र सानीआमा हुनुहुन्छ । कान्छी छोरी मावल पठाएको छ । दाजुले छोरा छोरी हेरीदिनुभएको छ । अब गाँउमा ऋण माग्ने ठाँउ पनि सकियो, पैसा आउने संभावना छैन् । ऋण कसरी तिर्ने अर्को तनाव छ । अप्रेशन गर्न १५ लाख मैले कहाँबाट जुटाउनु ? यती धेरै पैसा मेरो कल्पना भन्दा पनि निकै परको रकम हो । औषधी उपचार गर्ने खर्च नभएकोले घरतिर फर्किनुबाहेक अरु कुनै विकल्प छ्रैन् । म एउटा सर्वसाधारण नागरिक हुँ, म कुनै राजनीतिक दलमा लागेको छैन् । राजनीतिक पार्टीमा लाग्नेहरुलाई त जुन पार्टीको हो त्यसले सहयोग गर्छ भन्ने सुनेको छु । तर मलाई सहयोग गर्ने कोही पनि छैन् । नेपाल सरकारले केही सहयोग गरिदिए हुन्थ्यो । कसले आफ्नी श्रीमतीले उपचार अभावमा मृत्युवरण गरेको हेर्नसक्छ र ? तर मन्त्रीज्यू म त्यस्तो विवस लोग्ने बनेको छु, उनको उपचार गराउने मैले कुनै बाटो भेट्न सकेको छैन् । अब मेरो अन्तिम आशा नै तपाई भएकोले यो पत्र लेखेको छु । उही तपाईको जनता कृष्णबहादुर बुढामगर, सल्यान, कालागाँउ ९, हाल सिभिल अस्पताल, बानेश्वर काठमाडौं ।