धरान / प्रदेश नम्बर एक हालका एमाले अध्यक्ष केपी शर्मा ओली देखि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला एवं मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सम्मका नेताले प्रतिनिधित्व गर्ने प्रदेश हो । त्यति मात्र होइन मधेशका सबैभन्दा विद्रोही नेता उपेन्द्र यादव देखि एमाले छोडेर नयाँ पार्टी बनाएका अशोक राइ पनि यही प्रदेशमा छन् ।

यो प्रदेशमा एमालेका बरिष्ठ नेता झलनाथ खनाल देखि कांग्रेकी सुजाता कोइराला र महेस आचार्य तथा मिनेन्द्र रिजाल समेत अटाएका छन् । नेताहरुको उपस्थिति हेर्दा यो प्रदेशमा राजनीतिक मुख्य पदमा राम्रै भिडन्त हुने देखिन्छ ।

नेपाली कांग्रेसबाट महामन्त्री कृष्णप्रसाद सिटौला, शेखर कोइराला, कुलबहादुर गुरुङ, महेश आर्चाय, सुजाता कोइराला, मिनेन्द्र रिजाल, रामहरि खतिवडा, आमोदप्रसाद उपाध्याय यो प्रदेशका प्रमुख राजनीतिक खेलाडी हुने देखिन्छ । त्यस्तै चुनावी राजनीतिमा कमजोर मानिएपनि विश्व प्रकाश शर्मा पनि यो प्रदेशका राम्रा राजनीतिज्ञ मानिन्छन् ।

त्यस्तै नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, सभाध्यक्ष एवं सभामुख सुवास नेम्बाङको प्रदेशमा युवा नेता योगेश भट्टराई, भीम आचार्य लगायतका नेता प्रमुख दावेदार छन् । रविन कोइराला जस्ता युवा नेता पनि यो क्षेत्रमा उदाउन सक्छन् । एमाओवादीबाट भने यो प्रदेशमा खासै प्रभावशाली नेता छैनन् । युवा नेतामा हेमराज भण्डारीको भविष्य देखिन्छ भने पाका नेतामा राम कार्की, गोपाल किराँती, टंक आङवुहाङ, धर्मशीला चापागाँइ लगायत देखिन्छन्।

मधेश र आदिबासी जनजातिबाट यो प्रदेशमा उपेन्द्र यादव, विजयकुमार गच्छदार, अशोक रार्इ, रकम चेम्जोङ छन् भने नेकपा एमालेका सिपी मैनाली पनि यहिँका हुन् ।