सिरहा / राज्यविरुद्ध सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सीके राउत) लाई सिरहा अदालतले शुक्रार पाँचौंपटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ । गत माघ ५ गते सिरहाको लहानमा आयोजित सभामा देश टुत्र्mयाउने अभिव्यक्ति दिएको आरोपमा धनुषाको जनकपुरबाट पक्राउ परेका राउतलाई पहिलोपटक गत माघ २१ गते १० दिनसम्म थुनामा राख्न आदेश दिएको थियो । यसअघि, सिरहा जिल्ला अदालतले दोस्रोपटक फागुन १ गते १० दिन, तेस्रोपटक फागुन ११ गते १० दिन र चौथोपटक फागुन २१ मा २० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । पाचौंपटक चैत ११ गते अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका डिएसपी शेखर कोइरालाले जानकारी दिए । अन्तिमपटकका लागि अदालतले थपेको १० दिनको म्यादभित्रै अनुसन्धान सम्पन्न गरेर सुनुवाइका लागि मुद्दा अदालतमा पेश गर्ने डिएसपी कोइरालाले बताए । पक्राउ परेका राउतमाथि राज्यविरुद्धको सङ्गठित अपराधअन्तर्गत प्रहरीले मुद्दा चलाएको हो । सप्तरीको महदेवा गाविस घर भई जनकपुरमा कोठा भाडा लिएर बस्दै आएका राउतलाई गत माघ २० गते जनकपुरस्थित माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको थियो । राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । तर उनी उक्त मुद्दामा धरौटीमा छुटेका थिए । राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६ मा कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद हुने व्यवस्था रहेको कानुन व्यवसायीले बताएका छन् । यसैबीच, राउतलाई म्याद थपका लागि अदालत लगिने क्रममा सदरमुकाम सिरहा बजारमा ढुङ्गामुढा गर्न खोज्ने राउत समर्थित एकजनालाई पक्राउ गरिएको जिप्रका, सिरहाले जनाएको छ ।