धरान/शाारीरिक अपाङ्गता भएका एउटा परिवारलाई वैदेशिक रोजगारीमा गएका स्थानीय युवाले घर निर्माण गरी हस्तान्तरण गरेका छन् । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दीपक पुरीको संयोजकत्वमा कतार, कोरिया, कुवेत, जापानलगायतका देशमा काम गरिरहेका युवाबाट रकम संकलन गरिएको हो । संकलित रकमले अपाङ्गतासँगै विपन्नता भएका परिवारलाई जग्गासमेत किनेर घर निर्माण गरी हस्तान्तरण गरिएको दीपक पुरीले जानकारी दिए ।

२ लाख ३१ हजार ८ सय ५६ रुपैयाँ संकलन गरी १ लाख ५० हजारको जग्गा र बाँकी रकमको घर निर्माण गरी हस्तान्तरण गरिएको पुरीले जानकारी दिए । विदेशमा रहेकासँगै स्वदेशमा समेत रकम संकलन गरिएको उनी बताउँछन् ।

सुनसरी जिल्लाको वराह नगरपालिकास्थित भरौलमा आफन्तकहाँ बसोबास गरिरहेका बलबहादुर राई (५८), उनकी श्रीमती अकिलन राई (५८) बोल्न सक्दैनन् । उनहरूकी एकमात्र सन्तान रोजिना राई (१७) ढिलो सुन्छिन् ।

दर्दनाक छ, राई दम्पत्तीको कथा भोजपुरको पात्लेधारामा जन्मिएका बलबहादुर सानैदेखि बोल्न सक्दैनथे । गाउँमा अभिभावक गुमाएका उनी आफन्तको सहारामा तराई झरे । उनी विद्यालय जान पाएनन् । अर्मपर्म गर्दै उनको बाल्यकाल बित्यो । युवा अवस्थामा उही उमेर उस्तै अवस्थाकी अकिलन राईसँग भेट भएपछि आफन्त र गाउँलेले दुवैको विवाह गराइदिए । संयोगको कुरो उनीहरू जन्म साल, महिना र गते एउटै रहेको स्थानीय दीपक पुरी बताउँछन् ।

विवाहको दुई वर्षपछि रोजिनाको जन्म भयो । सामान्य जन्मिएकी उनमा पनि विस्तारै वंशाणुगत गुणको प्रभाव पर्यो । अब यी तीनैजना छिमेकीको अर्मपर्म गर्छन् । जवानीमा एक हल गोरु जोडेका बलबहादुर अझै हल गोरुका भरमा जीवन धानिरहेका छन् ।

यो परिवार बिरामी हुँदा गाउँलेले चन्दा उठाएर अस्पताल लाने गरेका छन् । दुई पटकसम्म सारै बिरामी परेका बलबहादुरलाई गाउँलेले नै चन्दा उठाएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगे ।