जलालाबाद/ अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा बिहीबार अनुहारमा माक्स लगाएका २ बन्दुकधारीले गोलीप्रहार गरी एकजना शिक्षकको हत्या गरेका छन् ।
प्रान्तीय राजधानी जलालाबादबाट दक्षिणतर्फ पर्ने चपार्हार जिल्लाको सोलानी क्षेत्रमा रहेको एक मस्जिदका अगाडि बसिरहेका बेला सहाब उल हक नामक ती शिक्षकलाई गोली हानी हत्या गरिएको थियो ।
कन्या उच्च माध्यामिक बिद्यालय बन्दी मिरानोमा अध्यापन गराउने ५० बर्षीया ती शिक्षकलाई अफगासनिस्तानको राजाधानी काबुलबाट १ सय २० किलोमिटर टाढा पर्ने सो स्थानमा हत्या गरिएको छ ।
अफगानिस्तानमा तालिबानले महिला शिक्षाको विरोध गर्ने गरेका छन् । सोही कारण पनि महिलालाई पठनपाठन गर्ने शिक्षकको हत्या गरेको अनुमान गरिएको छ ।
तर यस विषयमा तालिबानले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघीय सहयोग मिसनले हालै तयार गरेको एक प्रतिवेदनअनुसार २०१७ मा अफगानिस्तानमा हत्या, हिंसा र द्वन्द्वमा परी एक हजार ६६२ सर्वसधारणको मृत्यु भएको छ ।
साथै यस समयावधिमा तीन हजार ५०० सर्वसाधारण घाइते भएका छन् । अफगानिस्तानाको राजधानी काबुलमा मात्र नागरिक हताहतको संख्या २० प्रतिशतले बढेको छ ।
सो सहयोग मिसनका अनुसार यस द्वन्द्वग्रस्त राष्ट्रमा सन् २००९ देखि यताको तथ्याङ्क हेर्दा सन् २०१७ मा काबुलमा करिब २० प्रतिशतका दरले नागरिक हताहतको संख्या बढेको हो ।
मारिएका प्रायःसर्वसाधारण सरकार विरोधी बललगायत आतंककारी समूह तालिवान र इस्लामिक स्टेट्सले जारी राखेको आक्रमणमा परेका जारी प्रतिवेदनमा जानकारी दिइएको छ ।
काबुलमा हुने गरेका यस्ता आक्रमणहरूमा यस समयावधिमा प्रायः सर्वसाधारण नै मारिएका छन् ।
गत मे महिनामा काबुलमा भएको ट्रक आक्रमणमा १५० भन्दाबढी व्यक्ति मारिनुको साथै सयौँ घाइते भएका थिए । एएफपी