उदयपुर/ उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादनमा नयाँ रेकर्ड कायम गरेको छ। गएको बिहीबार २४ घण्टामा ७ सय १० मेट्रिकटन उत्पादन गरी नयाँ रेकर्ड कायम गरेको हो। जुन उदयपुर सिमेन्ट उद्योग स्थापना जापान सरकारले नेपाल सरकालाई हस्तान्तरणगरेदेखि हालसम्मकै ठूलो परिमाणमा उत्पादन गरेको हो।
उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले उद्योगको जम्मा उत्पादन क्षमता दैनिक ८ सय मेट्रिकटन भए पनि दैनिक ६ सयदेखि ७ सय ५० मात्र उत्पादन गर्दै आइरहेको बताए। ‘बिहीबार उद्योगले नयाँ कीर्तिमान रचेकै हो,’ उनले भने, ‘२४ घण्टामा ८ मेट्रिक टन उत्पादन गर्नुपर्नेमा ७ सय १० मेट्रिकटन उत्पादन गर्यौँ, यो अहिलेसम्मकै उच्च हो, जुन जापान सरकारले नेपाल सरकारलाई जिम्मा लगाएपछि यति ठूलो परिमाणमा सिमेन्ट उत्पादन गरेको थिएन।’
विद्युत् प्राधिकरणले नियमित विद्युत् उपलब्ध गराएपछि उद्योगले उत्पादनमा ब्रेक थु्र गर्न सफल भएको उद्योगले जनाएको छ। ‘नेपाल सरकारले उत्पादन गर्न थालेपछि अहिलेसम्मकै उच्च हो,’ महाप्रबन्धक पौडेलले भने, ‘मैले विद्युत् प्रधिकरणलाई फेसबुकमा धन्यवादसमेत दिइसकेको छु।’ उद्योगले बिहीबार ९० प्रतिशत उत्पादन गरेको हो। आफ्नो उत्पादनमा सुधार्दै गएको छ।
०४४ मा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग एसियाको दोस्रो ठूलो र नेपालको पहिलो ठूलो पूर्णरुपमा सरकारी स्वामित्वमा पर्दछ। जापान सरकारले ०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। औपचारिक रूपमा अहिले उद्योगमा लोडसेडिङ नभएपनि विद्युत कटौतीको ठुलो समस्या छ। ‘दैनिक रुपमा विद्युत् कटौती भईरहेको छ,’ उद्योगका नायव महाप्रबन्धक महेश काप्mलेले भने, ‘दिनमा कहिलेकाँही २० भन्दाबढी पटक विद्युत् कटौती हुने गरेको छ।
विगतमा उद्योगको मुख्य मेसिन (गियर) मा बारम्बार समस्या अहिले प्राविधिक समेत साथै राखिएको छ। नयाँ गियर मेसिन ल्याई जडान समेत गरिएको छ। उद्योगका अनुसार उत्पादन क्षमताको ३० प्रतिसत उत्पादन गर्दै आएको उद्योगले औपचारिक रुपमा लोडसेडिङ अन्त्य भएपछि ६० देखि ७० प्रतिशत उत्पादन गर्दै आएको थियो। अहिले विद्युत् कटौती घट्दै गएपनि ७० र ९० प्रतिशतकोबीचमा उत्पादन गरिरहेको छ। जुन पुर्ण रुपमा विद्युत कटौती बन्द हुँदा शतप्रतिशत उद्योगले उत्पादन गर्ने नायव महाप्रबन्धक काफ्लेको दाबी छ।
उद्योगबाट दैनिक प्रतिघण्टा दुई टनभन्दा बढी उडने धुलो तथा धुवाँ नियन्त्रण गर्ने इलेक्ट्रो स्टारिक पावर (इएसपी तथा पोलुसन कन्ट्रोल) मेसिन जडानपछि उत्पादनमा सुधार आएको हो। उद्योगले इलेक्ट्रो स्टारिक पावर (इएसपी) मेसिन अहिले प्रदूषण नियन्त्रण गर्ने मेसिन जडान गरेको एक महिनामा धेरै धुलो नियन्त्रण भएको उद्योगका महाप्रबन्धक पौडेलले पुन जानकारी दिए। उद्योगबाट उड्ने धुलो तथा धुवाँ नियन्त्रण गर्न पोलुसन कन्ट्रोल (प्रदूषण कन्ट्रोल मेसिन) मेसिन जडान भएपछि वायुमण्डलमा उडेर जाने धुलो रोकिँदा पनि उत्पादन बढ्ने पौडेलेको भनाइ छ।
थाहाखबरबाट