कराकस/ भेनेजुएलाको भ्यालेन्सियास्थित एक प्रहरी कार्यालयमा आगालागी हुँदा ६८ जनाको मृत्यु भएको छ।
काराबोबो प्रान्तमा पर्ने प्रहरी कार्यालयमा बुधबार कैदीहरुले जेल तोड्ने क्रममा बिच्छाइएको म्याट जलाएपछि आगलागी सुरु भएको सरकारी अधिकारीहरुले जनाएका छन्।
घटनामा कति संख्यामा कैदीबन्दी तथा प्रहरीको मृत्यु भएको छ भन्नेबारेमा स्पष्ट हुन सकेको छैन। प्रान्तका मुख्य सरकारी वकिल तारेक साबले घटनाको विस्तृत अध्ययन तथा छानबिन तत्कालै सुरु गरिने बताएका छन्।
घटना भएको थाहा पाउने बित्तिकै पीडितका आफन्तहरुले प्रहरी कार्यालय घेराउ गरेका थिए। उद्दारमा कठिनाइ भएको भन्दै उनीहरुलाई प्रहरीले अश्रुग्यास प्रयोग गरी तितरवितर पारेको थियो।
काराबोबो प्रान्तका एक सरकारी अधिकारी जिसस सान्टान्डेरले आगलागी पूर्णरुपमा नियन्त्रणमा आइसकेको तर काराबोबो अहिले शोकमा डुबेको प्रतिक्रिया दिएका छन्।