भद्रपुर । भद्रपुर नगरपालिका क्षेत्रका सडक सामुदायिक कुकुरको लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुकरको टोकाइबाट सर्नसक्ने प्राणघातक रेविज फैलन नदिन कुकुरको संख्यामा कमी ल्याउन बन्ध्याकरण अभियान चलाइएको हो

भद्रपुर नगरपालिका पशु सेवा शाखाको आयोजना र जनावरको सुरक्षा–स्वास्थ्य र उद्धारको क्षेत्रमा काम गर्दै आइरहेको संस्था हिमालयन एनिमल रेस्क्यू ट्रष्ट (ज्ब्च्त्)–को प्राविधिक सहयोगमा सडक सामुदायिक कुकुरको बन्ध्याकरण शुरु गरिएको जिल्ला पशु सेवा कार्यालय प्रमुख माधव दाहालले जानकारी दिए ।

भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले बिहीबार बन्ध्याकरण शिविरको उद्घाटन गर्दै कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यता भएका कारण कुकुरको बन्ध्याकरण गरी प्रजनन दर घटाउने उपाय अपनाइएको प्रमुख श्रेष्ठले बताए । सडक सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन रेविजको जोखिम न्यूनिकरण गर्न कुकुरको बन्ध्याकरण नै उत्तम विकल्प भएकोले नगरपालिकाले यो अभियानलाई निरन्तरता दिने उनले बताए ।

भद्रपुर नगरपालिकामा यसप्रकार कुकुरको बन्ध्याकरण शिविर आयोजना गरिएको यो तेस्रोपटक हो । यसपटक पाँच दिनमा दुईसय कुकुरको बन्ध्याकरण गरिने प्राविधिक सहयोग प्रदान गरेको हर्टका संस्थापक सञ्चालक निर्देशक खगेश्वर भट्टराईले जानकारी दिए । उनले भद्रपुर रेविजको जोखिममा रहेको नगरपालिका भएका कारण पनि यो नगरलाई प्राथमिकतामा राखिएको उनले बताए ।

भट्टराईलगायत संस्थाका संस्थापक वेलायती नागरिकहरु बारबरा वेब र जिम पियर्सनसमेत १३ जनाको प्राविधिक टोली यस कार्यमा खटिएका छन् । दैनिक ४० वटा कुकुरको बन्ध्याकरण गरिने छ । । बिहीबार शुरु गरिएको यो अभियान सोमबारसम्म चल्नेछ ।

भट्टराईका अनुसार मुलुकबाट रेविज उन्मूलन गर्न कम्तीमा ७० प्रतिशत सामुदायिक कुकरलाई रेविजविरुद्धको खोप लगाएको हुनपर्दछ । विश्वमा सन् १९८६ मा कुकुरको बन्ध्याकरण अभियान शुरु भएकोमा नेपालमा सन् हर्टकै स्थापना भएपछि सन् २०१० बाट बध्याकरण अभियान शुरु भएको हो । पोखरा र चितवनमा अभियान सफल भएको जनाउँदै भट्टराईले सन् ०१० दखि ०१७ सम्ममा देशभर १४ हजारभन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको बताए । उनले स्थानीय तहले यसमा सक्रियता देखाउँदा रेविज उन्मूलनमा निकै ठूलो सहयोग पुग्ने बताए ।। पशु सेवा शाखा प्रमुख कुमारसिंह खत्रीले उद्घाटन कार्यक्रम सञ्चालन गरेका थिए ।