भद्रपुर / झापामा १९ स्थानमा सन्देशसहित डमी ट्राफिकको बोर्ड राखिएको छ । सडकमा हुने सवारी दुर्घटना कम गराउने उद्देश्यले जिल्लाका विभिन्न क्षेत्रमा डमी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले काँकडभिट्टा, भद्रपुर , विर्तामोड, दमक ,गौरीगञ्जसम्मको सडक खण्डमा ट्राफिक प्रहरीको नमूना आकृतिको बोर्ड बनाएर डमी ट्राफिकका रुपमा राखिएको ट्राफिक प्रहरी झापाका प्रमुख होमप्रसाद अधिकारीले बताए ।
मुख्य स्थानमा सन्देशसहित डमी ट्राफिकको बोर्ड राखिएको उनले बताए । ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरबाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने उद्देश्यले राखिएको उनले जनाए । दुई हप्ताअघिबाट शुरु भएको सेवाले विशेष गरेर बोर्डले रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेलेको प्रमुख अधिकारीको भनाई छ ।
रातको समयमा ट्राफिकजस्तै टल्कने बोर्ड भएकोले मादक पदार्थ सेवनकर्ता, तीव्र सवारी कुदाउने चालक, कागजपत्र नबोकी हिँड्ने सवारी धनीका चालक सतर्क हुने गरेको उनले बताए । सवारीको चाप बढी हुने ठाउँमा डमी राख्दा दुर्घटना न्यूनीकरण भएको उनको दाबी छ ।
चालु आर्थिक वर्षको साउनमा दुइ र भदौमा दुइ जनाको सवारी दुर्घटनामा ज्यान गएको छ भने १७ जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । जनचेतना,बाक्लो रुपमा मापसे चेकजाँच,राडार गन चेक लगायतका कारण दुर्घटना कम हुदै आएको प्रहरीको भनाइ छ ।