विराटनगर । प्रहरी दिवसको अवसर पारेर यसवर्षको एकलाख नगद धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कार तीन जना प्रहरी जवानलाई प्रदान गरिएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले शुक्रबार नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसर पारेर उक्त पुरस्कार प्रदान गरिएको हो ।

शान्ति सुरक्षा स्थापनाका क्रममा पराक्रमी प्रहरीलाई प्रदान गरिने यो पुरस्कारबाट जिल्ला प्रहरी कार्यालय भोजपुरका दुई र इलाममा कार्यरत एकजना जवान पुरस्कृत भए । यसरी पुरस्कृत हुनेमा भोजपुरका खेमनाथ भट्टराई र सुरेन्द्र माझी तथा इलामका मुकुन्द माझी रहेका छन् ।

प्रहरी जवान भट्टराई र माझीलाई ध्वंसात्मक तथा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन भूमिका निर्वाह गरे वापत पुरस्कृत गरिएको हो । भोजपुरमा प्रहरी जवान संजीव राईको हत्यामा संलग्न विप्लव माओवादीका नेता विरुद्धको प्रतिरोध तथा संलग्नलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेवापत भट्टराई र माझी पुरस्कृत भएको हो । इलाममा कार्यरत माझीलाई बाढी पहिरो तथा विपद्को समयमा उचित कार्य गरेवापत पुरस्कृत गरिएको छ ।

वर्षभरीमा उत्कृष्ट ठहरिनेमध्येलाई प्रदान गरिने यो पुरस्कार धरानका प्रा.डा.बिक्रम प्रसाद श्रेष्ठले स्थापना गरेका हुन् । श्रेष्ठले आमाको नाममा प्रदेश प्रहरी कार्यालयको अक्षय कोष स्थापना गरेपछि यो पुरस्कार २०७१ सालदेखि प्रदान गरिदैं आएको छ । यसवर्ष भट्टराईलाई ५० हजार, र माझीद्वयलाई नगद २५/२५ हजार रुपिँया प्रदान गरिएको छ ।

यस्तै समुदाय–प्रहरी साझेदारी कार्यक्रम कार्यन्वयनमा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी जवान बिमला चौहान, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गरेवापत अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमकुमार साह, उत्कृष्ट प्रशासनिक कार्य गर्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी सहायक निरीक्षक महेश थापा, अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी सहायक निरीक्षक दुर्गा खनाल र उत्कृष्ट प्रशिक्षक प्रदेश प्रहरी तालिक केन्द्रका प्रहरी निरीक्षक प्रकाश जबेगुलाई पुरस्कृत गरिएको छ ।

विद्यार्थीलाई छात्रवृति
प्रहरी दिवसको अवसर पारेर प्रहरी संगठन सदस्य, पूर्व प्रहरी तथा अमर प्रहरीका सन्तानलाई छात्रवृत्ति प्रदान गरिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले एसईईमा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण विद्यार्थीहरुलाई जनही दशहजार राशिसहितको छात्रवृत्ति प्रदान गरे ।

छात्रवृत्ति पाउनेमा तनिसा सिठुङ्गे मगर, निश्चल आचार्य, संजिता कार्की, सुलभ खतिवडा, तनुसा बस्नेत, इस्मिता दनुवार, रोशनकुमार राय र रोशन शर्मा छन् । यसैगरी निसिका भुजेल, रंजितकुमार साह, रुपेश राई रितिककुमार ठाकुरलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा प्रहरी श्रीमती संघले अमर प्रहरी परिवारजनलाई सम्मान गरेको थियो । प्रदेश अध्यक्ष ज्ञानु ज्ञवालीले अमर प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मान गरे ।
यसैगरी प्रदेश प्रहरी कार्यालय मातहत रहेका विभिन्न जिल्लामा प्रहरी कार्यालय स्थापनाका लागि जग्गा प्रदान गर्ने दाताहरुलाई विशेष सम्मान भए । सम्मानित हुनेहरुमा ओखलढुंगाबाट पद्मकुमारी थापा,

सुनसरीका सनिचर महतो कोइरी र रामलाल महतो कोइरी, जसोदा राई, जसोदादेवी बस्नेत, निराहाङ राई, झापाका टेकनाथ उपाध्याय दाहाल, रत्नबहादुर श्रेष्ठ, मोरङका केशव सुवाल, नवराज बराल, सारदराज नेपाल, बासुबहादुर बस्नेत र छविलाल फुयाल र भोजपुरका लोकमणी नेपाल छन् ।