इनरुवा/ जिउधनको सुरक्षामा गम्भीर खतरा बढेको भन्दै कोशीका जनता माकुनेविरुद्ध सडकमा उत्रिएका छन् । माकुनेको बढ्दो आतङ्कबाट आक्रान्त बनेका सर्वसाधारण दीर्घकालीन समाधान खोज्न भन्दै सडकमा ओर्लिएका हुन् ।

माकुने कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको जङ्गली हात्ती हो । जो दुई दशकयता आरक्षमै बस्दै आएको छ । रैथाने भएर आरक्ष आसपासको क्षेत्रमा वितण्डा मच्चाउँदै आएको सोही माकुनेको आक्रमणमा परी १६ जनाले ज्यान गुमाउनु परेको स्थानीयहरू बताउँछन् ।

स्थानीय भाषामा हिटलरसमेत भनिने माकुनेले शुक्रबार रातिसमेत कोशीकटान क्षेत्रको बस्तीमा आक्रमण गरेको छ । हात्तीको आक्रमणमा परी सुरेन्द्र यादव घाइते भएका छन् । गाउँ छिरेको जङ्गली हात्तीको आक्रमणबाट ज्यान जोगिए पनि सुरेन्द्रका १४ वटा हड्डी भाँचिएको बताइएको छ ।

रातिको समयमा हात्तीको आक्रमणपश्चात् कटान क्षेत्रमा स्थानीयले केही समय सडक अवरुद्ध पारी हात्ती नियन्त्रणमा आउन नसकेकाले दीर्घकालीन समाधान खोजिनु पर्ने आवाजसहित नाराबाजी गरेका थिए ।

शनिबार दिउँसो भने स्थानीयले नहर चोकमा सडक अवरुद्ध पार्नुका साथै आरक्षको कार्यालय घेराउसमेत गरेका छन् । आरक्ष प्रमुख रामदेव चौधरी जनताको जिउधनको सुरक्षाको सवालमा गम्भीर नभएको भन्दै आक्रोसित समूहले उनको राजीनामा माग गरेको थियो ।

चौधरी आरक्षमा प्रमुख संरक्षण अधिकृत भएर आएदेखि आरक्ष आसपास क्षेत्रका गाउँबस्ती बढी असुरक्षित भएको स्थानीयको आरोप छ । जङ्गली जनावर नियन्त्रण तथा व्यवस्थापनका सवालमा चौधरीको बेवास्ता र लापरबाहीका कारण जनताले सास्ती झेल्ने क्रम बढेको कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारीको ठहर छ । वडाध्यक्ष सुलेमान मन्सुरी आरक्ष कार्यालय र जनप्रतिनिधिबीचको दूरी आरक्ष प्रमुखकै रवैयाका कारण बढेको बताउँछन् ।

अध्यक्ष अन्सारीले जङ्गली जनावरको दिनहुँको त्रासदी अन्त्यका लागि दीर्घगामी उपायका रूपमा आरक्षमा रहेको हात्तीसार अन्यत्र सारिनुको विकल्प नभएको बताए । आरक्ष हातामा रहेका पोथी हात्तीसँगको संसर्गका लागि आउने जङ्गली हात्ती आरक्ष वरपरकै जङ्गलमा रहने भएकाले आसपासको क्षेत्रका बासिन्दा त्रासको वातावरणमा बस्दै आउनुपरेको उनले बताए ।

दिनहुँको आक्रमणले स्थानीयलाई जोगाउनै समस्या परेको बताउने गाउँपालिका अध्यक्ष अन्सारीले जङ्गली जनावर नियन्त्रणसँगै बस्ती र जनताको सुरक्षाका लागि प्रदेश र सङ्घीय सरकारसामु गरिएको अपिलको सुनुवाइ नभएको बताए ।

आरक्ष घेराउका लागि पुगेका पीडित परिवारसहित जङ्गली जनावरबाट आक्रान्त क्षेत्रका बासिन्दाले आरक्ष कार्यालयमा चर्को नाराबाजी गरेका थिए । कोशी राजमार्गको अवरोध भने प्रहरीले खुलाएको थियो । जनप्रतिनिधिसहित आरक्ष कार्यालयका प्रमुखलगायतको बैठकमा ठोस सहमति नबने पनि समन्वय गरेर अघि बढ्नु पर्नेमा जोड दिइएको थियो ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले दुर्घटना न्यूनीकरणका सवालमा समन्वय र सहकार्य गरी अघि बढ्न तयार रहेको बताए पनि हात्तीसार अन्यत्र सार्ने विषयमा आफ्नो मात्र पहल पर्याप्त नहुने बताए । स्रोत साधन अभाव र केन्द्रीय निर्णय आवश्यक पर्ने भएकाले मातहतमा छलफल चलाउन आफू तयार रहेको बताएका चौधरीले गाउँपालिकाको कार्यालयका तर्फबाट समेत आवश्यक पहल चालिनु पर्ने बताए ।