पोखरा । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतदान सकिएको छ । ६५ प्रतिशत मत खसेको बताइएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको प्रारम्भिक नतिजा अनुसार ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्र सुवेदीले जानकारी गराए ।
सुवेदीका अनुसार कास्की क्षेत्र नम्बर २ को यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ जना मतदाता थिए । ०७४ सालको निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता थिए । गत निर्वाचनमा भन्दा कम प्रतिशत मत खसेको छ । गत चुनाव भन्दा करिब ३ हजार कम मत खसेकोबताइएको छ । ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमध्ये अधिकांशमा शान्तिपूर्ण रुपमा मतदान भए पनि कहीमा बम बिस्फोट र केही विवाद भएको थियो । ।
कास्कीमा ११ दल र १० स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेकपा उम्मेदवार विद्या भट्टराई र कांग्रेस उम्मेदवार खेमराज पौडेल रहेका थिए ।
रोल्पाको थवाङमा १६.२८ प्रतिशत मात्र
रोल्पाको थवाङ गाउँ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष चयनका लागि शनिबारको मत एकदमै न्यून खसेको छ । यो वडामा कुल मतदाता १२८४ छन् । तर २०९ मत अर्थात १६.२८ प्रतिशत मात्र खसेको छ । वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनकबहादुर बुढामगर र नेपाली कांग्रेसका कमलबहादुर रोकामगरबीच प्रतिस्पर्धा रहेको थियो ।
थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएको थियो । यस अघि वडाध्यक्षसहित सबै पदाधिकारी नेत्रविक्रम चन्द समूहको नेतृत्व विजयी भएका थिए ।