विराटनगर/ गत फागुन ८ गते विराटनगरमा १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरी भोक्राहानर्सिङ गाउँपालिका– ३ का १९ वर्षीय अफताक अन्सारी पक्राउ परेका छन् ।
पक्राउ परेका अन्सारीले ती बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको आरोप छ । अहिले मोरङ प्रहरीले जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । यस्तै गत फागुन १३ गते सुन्दरहरैंचा नगरपालिका–१० का ५५ वर्षीय मानबहादुर घिमिरे ६ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परे । घिमिरेले चाउचाउ किनिदिने भन्दै ललाई–फकाई गरी ती बालिकालाई करणीको प्रयास गरेको आरोप छ ।
उल्लेखित घटना प्रतिनिधिमूलक मात्र हुन् । मोरङ प्रहरीको अभिलेखअनुसार जिल्लामा बालबालिकाहरूमा हुने हिंसाको घटनामा वृद्धि आएको पाइएको हो । ३१ महिनामा मोरङमा २ सय ३३ जना बालबालिकाहरूमा हिंसाको घटनामा भएको छ । मोरङमा गतवर्षको तुलनामा आर्थिक वर्षमा १८ प्रतिशत बालबालिकाहरूमा हिंसाको घटनामा वृद्धि आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा २९ दशमलव ६९ प्रतिशत अर्थात् ६९ जना बालबालिकाहरूमा हिंसाको घटना भएको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७५/६६ मा ४२ जना बालबालिकाहरूमा हिंसाको घटनामा वृद्धि आएको मोरङ प्रहरीको अभिलेखमा उल्लेख छ ।
आर्थिक वर्षमा १ सय ११ जना बालबालिकाहरूमा हिंसाको घटना भएको डिएसपी राईले बताए । उनका अनुसार चालू आर्थिक वर्ष २०७६/०७७ को माघ महिनासम्ममा २२ दशमलव ७५ प्रतिशत अर्थात् ५३ जना बालबालिकाहरूमा हिंसाको घटना भएको छ ।
प्रहरीको अभिलेखअनुसार ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बालबालिका हिंसाको घटना बढी देखिएको छ ।
१७ स्थानीय तह रहेको मोरङमा सबैभन्दा बढी विराटनगर महानगरपालिका क्षेत्रमा बालबालिकाहरूमा हिंसाको घटना हुने गरेको पाइएको हो । मोरङ प्रहरीको अभिलेखअनुसार विराटनगरमा अघिल्लो आर्थिक वर्षमा ११ जना बालबालिकाहरूमा भएको हिंसाका घटनामा आर्थिक वर्षमा ९ जना बढी देखिएको छ । आर्थिक वर्षमा विराटनगर महानगरपालिका क्षेत्रमा मात्र २० वटा हिंसाको घटना भएको डिएसपी राईले जानकारी दिए ।
चालू आर्थिक वर्षमा ९ वटा रहेको छ । विराटनगरपछि दोस्रोमा सुन्दरहरैंचा नगरपालिकामा हिंसाको घटना हुने गरेको देखिएको छ । सुन्दरहरैंचा नपामा साढे दुई वर्षमा ३३ वटा हिंसाको घटना भएको छ । अघिल्लो आर्थिक वर्षमा १२, आर्थिक वर्षमा १६ र चालू आर्थिक वर्षको माघसम्ममा ३ वटा हिंसाको घटना सुन्दरहरैंचा नपाभित्र घटेको प्रहरीको तथ्याङ्कमा देखिएको हो ।
८ वटा गाउँपालिका रहेको मोरङमा गापाको हकमा सबैभन्दा बढी बालबालिका हिंसा केराबारीमा देखिएको छ । केराबारीमा ३१ महिनामा १४ वटा बालबालिकमाथि हिंसाको घटना भएको छ । सबैभन्दा कम मिक्लाजुङ गाउँपालिकामा रहेको छ । मिक्लाजुङमा अघिल्लो आर्थिक वर्ष र आर्थिक वर्षमा १–१ वटा गरी २ वटा हिंसाको घटना भएको छ । त्यसैगरी ३१ महिनामा रङ्गेलीमा ३०, बेलबारीमा १६, उर्लाबारीमा ११, लेटाङमा १०, रतुवामाईमा ८, सुनवर्षीमा ७ र पथरीशनिश्चरेमा २३ वटा बालबालिकाहरूमा हिंसाको घटना भएको प्रहरीको तथ्याङ्कमा देखिन्छ ।
यसैगरी कानेपोखरी गाउँपालिकामा ८, जहदामा ९, कटहरीमा १२ र धनपालथान गाउँपालिकामा ७ वटा बालबालिका हिंसाको घटना देखिएको डिएसपी राईले बताए । जिल्लामा घटेको हिंसाको घटनामा जबरजस्ती बल प्रयोग डर र त्रास देखाएर बालबालिकाहरूमा हिंसाको घटना हुने गरेको डिएसपी राईले बताए । ‘अहिले भएको घटनामा प्रलोभन, ललाई फकाई र घुमाउन लैजाने बहानामा बालबालिकाहरूमा हिंसाको घटना भएको देखिन्छ’ –उनले भने । डिएसपी राईका अनुसार नैतिक जिम्मेवारीको कमी र कानूनी दायित्व नबुझ्दा पनि बालबालिकाहरूमा हिंसाको घटना हुने गरेको बताए ।