उदयपुर । गतराति परेको चट्याङ लागेर उदयपुरमा एकै घरपरिवारको तीन जनासहित छ जना घाइते भएका छन् ।
कटारी नगरपालिका–११ बेतीनीमा चार जना, कनपा–६ को रिस्कुमा एक जना र त्रियुगा नगरपालिका–५ दमौटीमा एक जना गरी ६ जना घाइते भएका हुन् भने ठूलो संख्यामा पशुचौपायको क्षति भएको छ ।

कनपा–११ बेतीनी निबासी ५५ वर्षीय चन्द्रबहादुर आले मगरको घरमा राति करिब ११ः३० बजे चट्याङ पर्दा उनको आँखामा, उनको आमा ७० वर्षीया मनमाया मगरको दाहिने कुम र पाखुरामा, उनको श्रीमती ४८ वर्षीया मनकुमारी मगरको दाहिने खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै बेतीनी निबासी रेमबहादुर बलम्पाकी मगरका छोरा १६ वर्षीय सुमन मगरको टाउँकोमा सामान्य चोट लगेको प्रहरीले जनाएको छ । त्यस्तै कनपा–६ रिस्कुमा राति करिब ११ बजे परेको चट्याङ् लागेर मेनुका राईको छोरा १२ वर्षीय अस्मान राईको छातीमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

गतराति करिब ११ः५५ बजे परेको चट्याङ लागेर त्रिनपा–५ दमौटी निवासी २७ वर्षीय सुस्मा मगर घाइते भएकाले उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

राति परेको चट्याङ लागेर घाइते भएका बेतीनीका चन्दबहादुरको खोरमा बाँधेको एउटा बाख्रा मरको छ । त्यस्तै रिस्कु निबासी खुमबहादुर राईको तीन वटा सुँगुर र स्थानीय धनकुमारी राईको दुई वटा सुँगुरलाई चट्याङ लागेर मरेको प्रहरीले जनाएको छ ।