ताप्लेजुङ । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका ताप्लेजुङका ६ सय ४८ नागरिक शनिबार बिहान गृह जिल्ला आइपुगेका छन् ।
लामो समय सम्मको लकडाउनका कारण समस्यमा परेको भन्दै ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले आवश्यक समन्वय गरी उनीहरूलाई गृह जिल्ला पठाएको थियो । उनीहरू २१ वटा यात्रुबाहक बसमा घर फर्किएका हुन् । शुक्रबार बेलुका नै पाँचथर आइपुगेका उनीहरूलाई बिहान ताप्लेजुङ पाँचथरको सिमानामा पर्ने काबेलीमा रहेको हेल्थडेक्समा सामान्य स्वास्थ्य परीक्षण पछि मात्रै गृह जिल्ला प्रवेश गराइएको थियो ।
परीक्षण पछि सदरमुकाम फुङ्लिङ साथै बहानन्दे लगायतका ठाउँबाट उनीहरू सिधै घर फर्किएको जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले बताए । उनका अनुसार कतिपय सम्बन्धित गाउँपालिकामा रहेका क्वारेन्टाइनमा रहने छन् भने नपुगेको अवस्थामा घरैमा सुरक्षित बस्ने छन् ।