धनकुटा । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका ६ सय धनकुटेलीलाई जिल्ला ल्याइने भएको छ । धनकुटा जिल्लाका सात वटै पालिकासँग समन्वय गरी १४ दिन अनिवार्य क्वारेनटाइन बस्ने सर्तमा उनीहरुलाई धनकुटा ल्याउँन लागिएको हो ।
अब केहि दिनभित्रै उनीहरुलाई धनकुटा ल्याउने तयारी भइरहेको जिल्लाको प्रतिनिधित्व गर्ने संघीय सांसद राजेन्द्र कुमार राईले जानकारी दिएका छन् । ‘काठमाडौंमा अलपत्र परेका बिरामी, मजदुर, बिद्यार्थी लगायतलाई ल्याउँन हामीले जिल्लाका सात वटै पालिकाहरुसँग आवश्यक समन्वय गरेका छौं ।’ सांसद राईले भने ‘अब दुई÷तीन दिन भित्रै उहाँहरुलाई धनकुटा ल्याउँछौ ।’
काठमाण्डौंमा अलपत्र परेकाहरुलाई सहयोग गर्न निर्माण गरिएको धनकुटा–काठमाडौं कोरोना विपत सहयोग समितिका संयोजक हेमराज भण्डारीका अनुसार अहिले काठमाण्डौंमा करिव १२ सय धनकुटेली सम्पर्कमा आएका छन् । उनीहरुमध्ये जिल्लाका सात वटै पालिकाका करिव ६ सय भन्दा बढीले आफुहरु अलपत्र परेको भन्दै जिल्ला पुर्याइदिन आग्रह गरिरहेका छन् । उनीहरुमध्ये अलपत्र परेकाको प्राथमिकताक्रम छुट्याएर जिल्ला ल्याउँन लागिएको हो ।
उपचार गर्न गएका वा अरु कामले काठमाडौं गएर घर फर्कन नपाएकालाई जिल्ला फर्काउँनेको सूचिमा पहिलो प्राथमिकता दिइएको छ । त्यस्तै परिवार धनकुटामा भएका तर, काठमाण्डौ गएर दैनिक ज्यालादारी मजदुरी गरी जीविका चलाइरहेकाहरुलाई दोस्रो र अध्ययनको सिलसिलामा बस्दै आएका बिद्यार्थी तथा काठमाण्डौ स्थायी बसोवास नभएका धनकुटेलीलाई तेस्रो प्राथमिकतामा राखेर जिल्ला ल्याउँने तयारी गरिएको छ । प्राथमिकताक्रम अनुसार अलपत्र परेका सबै धनकुटेलीलाई जिल्ला ल्याइने संघिय सांसद राईले ब्लाष्ट खवर डटकमलाई जानकारी दिएका छन् ।
दुबै तर्फ स्वास्थ्य परीक्षण गरिने, क्वारेनटाइन बस्नुपर्ने अनिवार्य सर्त
काठमाडौंबाट धनकुटा आउँनेहरुलाई क्वारेनटाइनमा बस्नुपर्ने सर्त अनिवार्य गरिएको छ । अलपत्र परेकाहरुलाई ल्याउँने बिषयमा जिल्लाका सांसद र सात वटै पालिका प्रमुखहरुवीच सदरमुकाममा भएको छलफलले उनीहरुलाई १४ दिन अनिवार्य क्वारेनटाइनमा राख्ने निष्कर्ष निकालेको हो ।
व्यक्तिको यात्रा विवरण र स्वास्थ्य मुल्यांकन गरी पालिकाहरुमा निर्माण गरिएको क्वारेनटाइन वा होम क्वारेनटाइनमा बस्नुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको छलफलमा सहभागि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिएका छन् ।
यता, लकडाउनका कारण काठमाण्डौंमा अलपत्र परेका सबै धनकुटेली एक महिना भन्दा बढी होम क्वारेनटाइनमै रहेकाले उनीहरु जिल्ला आउँदा संक्रमणको जोखिम खासै नरहेको प्रदेश सांसद निरन राई बताउँछन् । ‘लकडाउनले गर्दा होम क्वारेनटाइनमा बसेको महिना दिन बितिसकेको छ, उनीहरुको स्वास्थ्य परीक्षण पनि अनिवार्य गरिने हुँनाले संक्रमणको जोखिम नहोला ।’–उनले भने ।