भद्रपुर । सिकारीले घाइते बनाएको १२ फिटको अजिङ्गरको उद्धार गरिएको छ । जलथल वन क्षेत्र अन्तर्गत बाह्रदशी गाउँपालिका १ सादुपर्ती सामुदायिक वनमा घाइते अवस्था भेटिएको अजिङ्गरको शनिबार उद्धार गरिएको हो ।
डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार १२ फिट, अन्दाजी ४५ केजी तौल भएको कालो बुट्टे अजिङ्गरको टाउकोमा चोट लागेको अवस्थामा भेटिएको थियो । स्थानीयले खबर गरेपछि वन कर्मचारीको टोली पुगेर अजिङ्गरको उद्धार गरेका हुन् । वनजङ्गलमा सिकार खेल्न जाने सिकारीले अजिङ्गरको टाउकोमा भाला प्रहार गरेको देखिएको छ । घाइते अजिङ्गरलाई पशु सेवा अस्पताल भद्रपुरमा उपचार गराइएको र सुरक्षाका लागि डिभिजन वन कार्यालयमा राखिएको छ । उपचारपश्चात् पुनः जलथल जङ्गलमा लगेर छाडिदिने जनाइएको छ ।