धरान । काठमाडौंबाट भोजपुर घर फर्किने क्रममा धरानमा अलपत्र बनेपछि स्थानीय सरकारको पहलमा ९ जनालाई भोजपुर पठाइएको छ ।
अलपत्र परेका उनीहरू भोजपुर षडानन्द नगरपालिका हुन् । उनीहरू सोमबार काठमाडौंबाट इटहरीसम्म बसमा आएका थिए । इटहरीबाट उनीहरू पैदल नै धरान आइपुगेका थिए । धरानमा आइपुगेपछि उनीहरू अलपत्र परे पछि षडानन्द नगरपालिकाको पहलमा धरान उपमहानगरले समन्वय गरेपछि उनीहरू घर फर्किने मौका पाएका हुन् ।
भोजपुरबाट धरानका लागि आएको एक बोलेरो जिपमा उनीहरू फर्किएका छन् । उनीहरूले व्यक्तिगत खर्चमा त्यसतर्फ हिँडेका हुन् । सरकारले गरेको लकडाउनका कारण सवारी साधनहरू नचल्दा उनीहरू इटहरीबाट पैदलै धरान आउन बाध्य भएका थिए । झण्डै ५ घण्टा लगाएर धरान आइपुगेका उनीहरू केही समय धरानमै अलपत्र परेका थिए । ५ महिला र ४ पुरुष रहेका उनीहरूमध्ये चार जना विद्यार्थी थिए भने अन्य काम गर्दै जीविकोपार्जन गर्दै आएका व्यक्ति हुन् ।