भण्टाबारी । समाजिक संजालमार्फत जनप्रतिनिधिलाई बदनाम गर्न खोजिएको प्रति गम्भीर ध्यानाकर्षण भएको हरिनगर गाउँपालिकाले जनाएको छ ।

सर्वपक्षीय बैठकअनुसार लकडाउन बेला विपन्न घर परिवारलाई नेपाल सरकारको मापदण्डअनुसार राहत गरेपनि तथ्यहिन र भ्रामक खबर फैलाएर समाजिक संजालमार्फत जनप्रतिनिधिलाई बदनाम गर्न खोजिएको भन्दै गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लकडाउनका कारण विपन्न घरपरिवारलाई जीवनयापनमा पर्न गएको कठिनाइलाई मध्यनजर गर्दै आफूहरूले सर्वपक्षीय बैठकको सुझाव बमोजिम नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिराटनगरबाट खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट नेपाल सरकारले तोकेको मापदण्डअनुसार चामल,दाल,तेल,नुन लगायतका राहत सामाग्री ल्याएर वितरण गरेको हरिनगर गाउँपालीकाका अध्यक्ष गफार अन्सारीले बताए ।

यसरी वितरण गरिएको राहत सामाग्रीमध्ये चामल प्लास्टिकको वितरण गरिएको भनी केही समाजिक संजाल प्रयोगकर्ता तथा व्यक्तिहरूले कुत्षित मनसायका साथ जनमानसमा भ्रम पैदा गर्दै जनप्रतिनिधिहरुलाई बदनाम गर्ने काम गरेको अध्यक्ष अन्सारीले गुनासो गरे । सुनसरीको हरिनगर गाउँपालीकामा वितरण गरिएको चामल गुणस्तरीय रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

गुनासो आएपछि उक्त कार्यालयले विज्ञप्ती निकाल्दै चामल प्लास्टिकको भनी फैलाएको हल्ला भ्रामक र निराधार भएको बताएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर मोरङले वैशाख १६ गते निकालेको विज्ञप्तीमा प्राप्त नमुना विश्लेषण गरिएको पारामिटरहरुको आधारमा नेपाल सरकारले चामलको लागि तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुरूप पाइएको भनी उल्लेख गरेको छ ।

हरिनगर गाउँपालिकाले राहत वितरण गर्दा गुणस्तरीय चामल वितरण नगरेको र उक्त चामल खादा बिरामी पर्न थालेको भन्दै केही व्यक्तिले वार्ड कार्यालयमा राहत सामाग्री फिर्ता गरेका थिए । चामल जस्तै देखिएपनि प्लास्टिकको चामल वितरण गरिएको आरोप लगाउदै केही स्थानीयले भात पकाउदा रबडको डल्लो जस्तो आकारमा परिणत हुने गरेको भन्दै चामल फिर्ता गरेका थिए । वितरण गरिएको चामल गुणस्तरीय भएकोले गलत मनसायका साथ चलाइएको हल्लाको भ्रममा नपर्न हरिनगर गाउँपालिकाले आग्रह गरेको छ ।