भद्रपुर / गोरु काट्ने ब्यक्तिलाई पक्राउ गरी लैजान खोज्ने प्रहरीलाई अबरोध गर्न खोज्दा झापा गाउँपालिकामा साँझ झडप भएको छ ।
झडपका क्रममा प्रहरीको गोली लागेर एक स्थानीय घाइते भएका छन् । घाइते हुनेमा रचुक नाम गरेका स्थानीय रहेका छन् । उनको घुँडामा गोली लागेको जनाइएको छ । झापा गाउँपालिकाको वडा नं ३ कामाटोली बजारमा गोरु काट्दै गरेको अबस्थामा दुईजना पक्राउ परेका थिए ।
पक्राउ पर्नेहरुमा झापा गाउँपालिका ३ का अब्दुल सलाम र ताजमल हक रहेका छन् । बुधबार दिउँसो ताजमल हकको घरमा गोरु काट्दै गरेको अबस्थामा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाघनडुब्बाबाट गएको संयुक्त टोलीले मासुसहित ती दुवैलाई पक्राउ गरेको थियोे । पक्राउ परेकाहरुलाई लान नदिनका लागि मुस्लिमहरुको ठूलो भीडले प्रहरीलाई अवरोध गरेको थियो । त्यसक्रममा झडप भएको हो ।
झडपका क्रममा प्रहरीले १०।१२ राउण्ड हवाइ फायर गरेको जनाइएको छ । गोरु काट्नेहरुलाई लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयकाका डिएसपी राकेश थापाले बताए । उनले त्यसक्रममा केही राउण्ड हवाई फायर भएको जनाए । प्रहरीको गोली लागेर एक स्थानीय घाइते भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताए । त्यस्तै एकजना सशस्त्र प्रहरी सामान्य घाइते भएको जनाइएको छ । आक्रोशित भीडले कामाटोली बजारमा टायर बालेर प्रदर्शन गरिरहेको र ती प्रदर्शनकारीहरुलाई सशस्त्र र जनपद प्रहरीले घेराउ गरिरहेको जनाइएको छ ।