धरान । नेकपा (माओवादी केन्द्र) को वडाको अधिवेशनअन्तर्गत धरानका १५ वटा वडाको अधिवेशन सम्पन्न भएको छ ।
माओवादी केन्द्रले शनिबार एकसाथ पार्टीको वडा अधिवेशन गर्नका लागि निर्देशन गरेको थियो । सोही निर्देशनअनुसार शनिबार धरानका ६ वडाबाहेकका वडामा अधिवेशन सम्पन्न भएको हो । जसअनुसार ३, ४, ६, ७ र १५ नम्बर वडामा अधिवेशन नभए पनि अन्य वडामा अधिवेशन सम्पन्न भएको छ ।
माओवादी केन्द्रका नगर अध्यक्ष सुदर्शन श्रेष्ठका अनुसार १ नम्बर वडामा सञ्जित साह, २ नम्बर वडामा टेकेन्द्र श्रेष्ठ, ५ नम्बरमा धनकुमार राई, ८ नम्बरमा झमक मगर, ९ नम्बरमा रविन श्रेष्ठ, १० मा केशव रिजाल, ११ मा जितराज राई, १३ मा दिलीप चाम्लिङ, १४ मा नवीन केसी, १६ हिमाल कार्की, १७ मा सुवास बर्देवा, १८ मा मदन राई, १९ मा सन्त तेम्बे र २० मा विजय लामासहित ३५ सदस्यीय समिति निर्वाचित गरिएको छ ।
पाँचजना पदाधिकारीसहित ३० जना सदस्य हुने केन्द्रको विधान रहेको छ । केन्द्रको निर्देशनअनुसार बाँकी रहेका ५ वडामा मंसिर ९ गतेसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रको निर्वाचन आयोगले देशभर ६ हजार ७४३ वडामा निर्वाचित समिति बनाएको थियो । केन्द्रको निर्वाचन आयोगका अनुसार मंसिर ११ गतेसम्म पालिका र २५ गतेसम्म सातै प्रदेशको अधिवेशन हुने जनाइएको छ ।
सोहीअनुसार आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन गरिने तयारी गरिएको छ ।