यासोक । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरूले धमाधम भौतिक पूर्वाधारको निर्माण गर्दै आएका छन् । नयाँ अनुभव र पर्याप्त पूर्वाधारको अभावमा गाउँपालिका र वडाको प्रशासनिक काम कारबाही अघि बढाउन समस्या हुँदै आएको थियो ।
तर पछिल्लो समयमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूरा हुनै लाग्दा प्रशासकीय भवन देखि वडा भवनको निर्माण हुँदै आएको छ । यस अघि भाडाको घरमा वडाको सेवा प्रवाह गर्दै आएको पाँचथरको याङवरक गाउँपालिका वडा नं.२ ले सुविधा सम्पन्न भवन उद्घाटन गरी आफ्नै भवनबाट सेवा सुचारु गरेको छ ।
हिमतारा आरके जेभीले २ एक करोड ७० लाख ४८ हजार ९ सय ८२ को लागतमा उक्त भवन निर्माण गरेको हो । अढाई तले भवन गाउँपालिकाले संघीय सरकारसँगको साझेदारीमा निर्माण गरेको हो । २०७७ असार १६ गते शिलान्यास भएको भवन निर्धारित समय अगावै निर्माण सम्पन्न भएको हो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीले निर्धारित समय अघि नै कार्य सम्पन्न गरेको हो । यसअघि भाडाका भवन तथा विद्यालय भवनमा सञ्चालन हुँदै आएको वडा कार्यालय अब आफ्नै भवनबाट सञ्चालन हुने भएको छ ।
भवन निर्माणको लागि इलाम निवासी राजन शिवाकोटीले आमा गंगादेवी शिवाकोटीको स्मृतिमा ४ लाख ५० हजार, ताप्लेजुङका नन्दराम बानियाँले आमा गंगादेवी बानियाँको स्मृतिमा सोही परिमाण तथा झापामा बसोबास गर्दै आएका डम्बरकुमारी खरेलले श्रीमान् अग्निप्रसाद खरेलको स्मृतिमा ३ लाख मूल्यको जग्गा निःशुल्क उपलब्ध गराएका थिए
। यस्तै थप जग्गाको लागि वडाका ७६ जना स्थानीयवासीले प्रतिव्यक्ति ५ हजारभन्दा बढी चन्दा संकलन गरेका थिए ।
गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेका अनुसार भवन अभावमा दुःख र कष्टका साथ भाडाको घरबाट सेवा प्रवाह गर्नु पर्ने बाध्यता थियो तर अहिले भवन निर्माण भयसँगै सेवा प्रवाहमा सहज भएको बताए ।
उनले संघीय संरचनालाई संस्थागत गर्न स्थानीय तहले संरचनागत विकासमा जोड दिने उल्लेख गरे । गाउँपालिकाको २ र ५ नम्बर वडामा भवन निर्माण सम्पन्न भएको छ । त्यस्तै प्रशासकीय भवन समेत निर्माण भइरहेको गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङले बताइन ।