प्रेस चौतारी सुनसरीले दुई जना पत्रिका वितरकलाई साइकल प्रदान गरेको छ ।
प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवसको अवसरमा शनिबार सुनसरीको इटहरी र धरानमा लामो समय देखी पत्रिका वितरण गर्दै आएका दुई जना पत्रिका वितरक (हकर) लाई साइकल प्रदान गरेको छ । धरानमा विगत १५ वर्षदेखि ग्राहकहरूको घरमा पत्रिका पुर्याउदै आएका ५० वर्षीय बद्री राई र इटहरीमा विगत ८ वर्षदेखि पत्रिका वितरण गर्दै आएका कल्याण राईलाई साइकल वितरण गरेको हो ।
धरान ७ स्थित होटेल सन्ध्या इनमा भएको एक कार्यक्रममा नेकपा एमाले केन्द्रीय महासचिव शंकर पोख्रेलले चाबी हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रेस चौतारी सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले आम पाठकमाझ पत्रिका पुर्याएर महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनीहरूलाई आवश्यक साधनको अभावले समस्यामा हुने भएकोले सहजताका लागि साइकल वितरण गरेको बताइन् ।