सुनसरी । कोसीटप्पु वन्यजन्तु आरक्षका जनावर र मानव द्वन्द्व नियन्त्रण गर्ने उद्देश्यले विद्युतीय घेराबारा गरिने भएको छ ।

कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख रामचन्द्र खतिवडाका अनुसार हात्तीलगायतका जनावरलाई मानव बस्ती पस्नबाट रोक्ने उद्देश्यले कोसी गाउँपालिका–८ भण्टाबारीदेखि वडानम्बर ७ हरिपुरको आर्मी क्याम्पसम्म ७५ लाख लागतमा ७ किलोमिटर विद्युतीय घेराबारा गर्न लागिएको हो ।

सुनसरीतर्फ ७ किलोमिटर र सप्तरीतर्फ ३ किलोमिटर गरी जम्मा १० किलोमिटर विद्युतीय घेराबाराका लागि गतवर्ष नै ठेक्का लगाइए पनि कोरोना महामारीका कारण ७५ लाख रुपैयाँ फ्रिज भएको थियो ।

आरक्षका प्रमुख खतिवडाले आफू प्रमुख भएर आएपछि स्थानीयवासीका समस्यालाई मध्यनजर गर्दै उक्त बजेट  फिर्ता ल्याएर काम अगाडि बढाइएको बताए । विद्युतीय घेराबारा गर्ने क्रममा विगतमा मध्यवर्ती क्षेत्रका सर्वसाधारणबाट अवरोध हुने गरेको थियो । यसपटक भने काम थाल्नुअगाडि उनीहरूलाई योजनाका बारेमा शनिबार विस्तृत जानकारी गराइएको उनको भनाइ छ ।

कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जङ्गली जनावरलाई आरक्षबाहिर निस्कन नदिन आरक्षको चारैतिर विद्युतीय घेराबारा गरिनुपर्ने बताउँदै मानव र जनावरबीच द्वन्द्व अन्त्य गर्न आफूहरू सहयोग गर्न तयार रहेको बताए ।

वर्षौंदेखि हात्ती आतङ्क यथावत् रहेको बताउँदै उनले सोलार तारबारसहित घेराबारा गर्न पटक–पटक बजेट विनियोजन गरिए पनि समस्या समाधान नभएको बताए । यद्यपि कोसीटप्पु क्षेत्रमा आतङ्क मच्चाउने मकुना हात्तीको दुर्घटनामा परेर मृत्यु भएपछि भने अवस्था केही शान्त भएको अध्यक्ष अन्सारीको भनाइ छ ।

स्थानीय जनताका मागअनुसार समस्या समाधानका लागि अग्रसर भएर लागिपरेको बताउँदै आरक्ष प्रमुख खतिवडाले जनावर आतङ्क रोक्न तत्काल घाँसे मैदान व्यवस्थापन गर्न र सिमसार व्यवस्थापनलगायत कार्य गर्ने योजना रहेको जानकारी दिए ।