विजयपुर । सर्दु करिडोरको सरकारी जग्गा अतिक्रमण गर्दै खुलेआम खरिद बिक्री भइरहँदा पनि सरोकारवाला निकाय भने बेखबर छ । स्थानीयले जनप्रतिनिधिलाई खरिद बिक्री भइरहेको जानकारी गराउँदासमेत नियन्त्रण भएको छैन ।

धरान उपमहानगर–१७ को डाँडा घोपा आसपास सर्दु करिडोरको जग्गा अतिक्रमण गरी टहरा निर्माण गर्दै खरिद बिक्री गरिरहेको स्थानीयवासीले बताएका छन् । स्थानीयका अनुसार केही व्यक्तिले धरान–१७ कावु चम्पले खोला, कालापानी, दुलेपानी क्षेत्रमा डेढ महिनादेखि अत्यधिक मात्रामा अतिक्रमण गर्दै खरिद बिक्रीसमेत गर्दै आइरहेका छन् । हाल पनि अतिक्रमण (ओगट्ने) गर्ने र टहरा निर्माण गरी खरिद बिक्री गर्ने कार्य भइरहेको छ ।

खुलेआम रूपमा सरकारी जग्गा अतिक्रमण गरी टहरा निर्माण गर्दै खरिद बिक्री गर्दा पनि उपमहानगर, वडा कार्यालय, राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय भने मौन जस्तै देखिन्छन् । यसरी सरकारी जग्गा अतिक्रमण गरी खरिद बिक्री गरिरहँदा सरोकारवाला पक्ष निकाय मौन देखिनाले कतै उनीहरूकै सक्रियता र संलग्नतामा अतिक्रमण भइरहेको त छैन भनी स्थानीयले आशङ्का व्यक्त गरेका छन् । उपमहानगरले रोक्नका लागि कुनै प्रयास नगरेको स्थानीयको भनाइ छ ।

साथै करिडोर क्षेत्रमा पर्ने जग्गा अतिक्रमण गरी टहरा निर्माण गर्नाले करिडोर निर्माणमा समेत अवरोध सिर्जना हुँदै आएको छ । स्थानीयले करिडोर निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीलाई केही समयअघि नापजाँच गर्नसमेत अवरोध गरेका थिए । स्थानीयका अनुसार आफूहरूले वर्षौंदेखि पूजाआजा गर्दै आएको स्थानको जग्गासमेत अतिक्रमणमा परेको छ ।

स्थानीयका अनुसार आठ–दश धुरको टुक्रा निर्माण गर्दै दुई–तीन लाखमा बिक्री गर्दै आइरहेका छन् । आफ्नो क्षेत्र ओगट्नका लागि किला गाड्ने, टहरा बनाउने कार्य नियमित नै भइरहेको छ । स्थानीयले पहिले पनि अतिक्रमण हुँदै आए पनि डेढ महिनादेखि अत्यधिक मात्रामा अतिक्रमण गरी टहरा निर्माण गरेको बताए ।

स्थलगत रिपोर्टिङको क्रममा ब्लाष्टकर्मीसँग उक्त क्षेत्रमा भेटिएका स्थानीयले पनि डेढ महिनादेखि अत्यधिक मात्रामा अतिक्रमण गरी खरिद बिक्री गरेको बताए । एक स्थानीयले भने, ‘अतिक्रमण गरी टहरा निर्माण गर्ने कार्य भइरहेको छ । खरिद बिक्रीको कुरा सुनिए पनि आधिकारिक जानकारी छैन । तर, अतिक्रमण गरेपछि खरिद बिक्री नै गर्ने हो ।’

ती स्थानीयले अतिक्रमणको विषयमा उपमहानगरलाई  जानकारी गराए पनि रोक्ने कार्य नभएको बताए । वडा नं. १७ का अध्यक्ष मनोज भट्टराईले जग्गा खरिद बिक्री भइरहेको बताए । उनले अतिक्रमण र खरिद बिक्रीका विषयमा धरानका नगर प्रमुखलाई जानकारी गराए पनि खासै चासो नदिएको बताए ।

उनले भने, ‘मेयरसा’पलाई जानकारी गराएको धेरै भयो । नियन्त्रण गर्न चाहनुभएन ।’ सरकारी जग्गा अतिक्रमण गर्ने गिरोह नै रहेको उनले बताए । उनले भने, ‘मेयरले प्रहरी परिचालन गरेर उठाउनु पर्यो । उहाँले सक्नुहुन्छ तर, चासो राख्नुभएन ।’ उनले जग्गा अतिक्रमणको विषयमा कार्यपालिका बैठकमा नै कुरा उठाए पनि नगर प्रमुख तिलक राईले जवाफ नदिएको बताए । उनले करिडोर निर्माणमा समेत अवरोध गरेको बताए । उनले भने, ‘नाप्नसमेत असहयोग भयो ।’

नगर प्रमुख तिलक राईले खोला क्षेत्रको जग्गा अतिक्रमणबारे आफूलाई जानकारी आएपछि नगर प्रहरी परिचालन गरेको बताए । उनले भने, ‘आफूखुसी केही दलालहरूले अतिक्रमण गर्ने कार्य गरिरहेको भन्ने खबर आएको छ ।’ उनले अतिक्रमण रोक्न नगर प्रहरीले नसक्ने भएकाले राज्यले नै नियन्त्रण गर्न लाग्नुपर्ने बताए । उनले भने, ‘राज्यले जान्नु पर्यो ।’ उनले जिल्ला प्रशासनसँगको समन्वयमा प्रहरी परिचालन गरेर उठाउने बताए । उनले वास्तविक सुकम्बासी भएमा राज्यले व्यवस्था गर्ने बताए ।