इनरुवा । जिल्ला समन्वय समिति (जिसस) सुनसरीले आफ्नो परिसरमा रहेको वडा कार्यालय हटाउन पत्राचार गरेको छ । नवनिर्वाचित जिसस प्रमुख राजन मेहताले कार्यालय परिसरमा रहेको वडानम्बर २ को कार्यालय हटाउन निर्देशनसहितको पत्राचार गरेका हुन् ।
प्रमुख मेहताले जिससको भवनमा कार्यालय सञ्चालन गर्दै आएको वडालाई पत्राचार गर्दै एक महिनाभित्र भवन खाली गरिसक्न भनेका छन् । वडानम्बर २ को कार्यालयको नाममा काटिएको पत्रमा कोठा आवश्यक परेको भन्दै साउन १ गतेभित्र आफ्नो व्यवस्था मिलाई भवन खाली गर्न भनिएको छ ।
पत्र सङ्ख्या २०७८/०७९ को च.नं.३३२ को भवन खाली गराई दिन हुन भन्ने शीर्षकको पत्रमा जिसस सुनसरी प्रमुख मेहताको हस्ताक्षर रहेको छ । सो बारे जिससले इनरुवा नगरपालिकाको कार्यालयलाई समेत जानकारी गराएको छ ।
नगरपालिकालाई बोधार्थ दिइएको पत्रमा भनिएको छ– ‘विगत लामो समयदेखि यस कार्यालय मातहतमा रहेको कार्यालय भवन प्रयोग गरी वडाकार्यालय सञ्चालन भइरहेकोमा अब उप्रान्त उक्त भवन यस कार्यालयका लागि आवश्यक परेकाले मिति २०७९/०४/०१ गतेसम्ममा आफ्नो व्यवस्था मिलाई कार्यालय भवन खाली गरिदिनुहुन अनुरोध छ ।’
सो व्यहोराको पत्र इनरुवा नगरपालिकाको कार्यालयमा दर्तासमेत गराइएको छ । जिससको उक्त पत्र नगरपालिकाको अभिलेखमा मिति २०७९/२/३१ गते ७०१७ नम्बरमा दर्ता रहेको भेटिएको छ ।
मेहता अघिल्लो दिन सोमबार सम्पन्न निर्वाचनबाट जिसस सुनसरीको प्रमुखमा निर्वाचित भएका हुन् । मेहतासहित निर्वाचित पदाधिकारी तथा सदस्यहरूले सोही दिन सपथ तथा पदभार ग्रहण गरेका छन । सो वडामा अघिल्लो पटक नेपाली काङ्ग्रेसले वडाध्यक्ष जितेको थियो । यस पटक भने काङ्ग्रेसका उम्मेदवार रञ्जेश भट्टराईलाई ११ मतले हराउँदै एमालेका विश्वनाथ ठाकुर विजयी भएका छन् ।
लामो समयदेखि जिसस परिसरको खाली भवनलाई वडानम्बर २ ले कार्यालयका रूपमा प्रयोगमा ल्याउँदै आएको थियो । काङ्ग्रेसको पालामा वडालाई कार्यालय सञ्चालन प्रयोजनका लागि भवन दिलाउन तथा अन्य आवश्यक बन्दोबस्ती मिलाउन स्वयम् तत्कालीन नगरप्रमुख मेहताले पहलकदमी गरेका थिए । मेहताको उक्त निर्णयलाई लिएर स्थानीयस्तरमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ । पर्याप्त कोठा तथा भवन खाली रहेको अवस्थामा पनि वडा कार्यालय खाली गर्न भनिनुलाई वडावासीले राजनीतिक प्रतिशोध भनेका छन् ।
उता जिसस प्रमुख मेहताले भने अव्यवस्थित कार्यालय र परिसरलाई व्यवस्थित बनाउने प्रयोजनका लागि वडा कार्यालयले ओगटेको भवन खाली गर्न भनिएको बताए । यता वडाध्यक्ष विश्वनाथ ठाकुरले भने कार्यालय सञ्चालनका लागि छुट्टै स्थानमा कोठा खोजिने प्रतिक्रिया दिए ।